संसदमा अड्किएर बसेका विधेयकहरूको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने : देवेन्द्र दाहाल

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, १३ : ३०
संसदमा अड्किएर बसेका विधेयकहरूको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने : देवेन्द्र दाहाल

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरूको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताएका छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले प्रतिनिधि सभा र राष्ट्रिय सभामा धेरै विधेयकहरू अड्किएर बसेको बताए।संसदमा अड्किएर रहेका तथा विचाराधीन विधेयकहरूलाई हेर्नेगरी दुवै सदनमा अनुगमन, सुपरिवेक्षण र सुझाव समिति गठन गर्नुपर्ने उनकाे भनाइ छ।

सांसद दाहालले भने, ‘विधेयकको अवस्था के हो? किन विधेयकहरू अड्किएर बसिरहेको अवस्था छ? यस बारेमा हामीले धेरै पटक कुरा उठायौँ तर सुनुवाइ भएन। मलाई लाग्छ यो संसद यदि अधिकार सम्पन्न हो भने यस्ता विधेयकहरू हेर्नेगरी एउटा संसदमै, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै ठाउँमा यो विधेयकलाई हेर्ने एउटा स्पेसल अनुगमन, सुपरीवेक्षण र सुझाव समिति हुनुपर्छ भन्ने म प्रस्ताव राख्न चाहन्छु।।’

उनले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेकोप्रति विरोध जनाए। विगतमा केपी ओली नेतृत्वको सरकारले जे कुरा ल्याएको थियो विधेयकमा सोही कुरा ल्याएको भन्दै उनले सरकारले जे कुराको विरोध गरेको हो सोही कुरा ल्याएको बता‍ए।

सांसद दाहालले सरकारसँग नैतिकता नरहेको आराेप लगाए।उनले शून्य समय र विशेष समयमा प्रस्तुत विषयहरुको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनमा उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि मन्त्रीहरूले जवाफ नदिने गरेको पनि बताए।

प्रतिक्रिया दिनुहोस