जनकपुर । प्रतिपक्षी दलको बहिष्कारका बाबजुद मधेस प्रदेशसभाको बैठकबाट प्रदेश सरकारको विनियोजन विधेयकसहित दुईवटा विधेयक आज बहुमतले पारित गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरूले मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका क्रममा उठाएका प्रश्नहरूको सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएपछि सरकारको विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको हो ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको शोक मनाउने सङ्घीय सरकारले निर्णय गरेको अवस्थामा आजको प्रदेशसभा बैठकमा शोक प्रस्ताव पारित गरी बैठक स्थगन गर्न माग गरिएको थियो । सभामुख सरोजकुमार यादवले उक्त प्रस्तावमाथि पछि छलफल गरौँला भन्दै बैठकअघि बढाउन खोजेपछि प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र नेकपा ९एमाले० का प्रदेशसभा सदस्यहरूले आजको बैठक बहिष्कार गरी बैठक कक्षबाट बाहिरिएका थिए ।
प्रतिपक्षी दलका प्रदेशसभा सदस्य बैठक कक्षबाट बाहिरिएपछि १५ मिनेटका लागि स्थगन भएको प्रदेशसभाको बैठक प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूको अनुपस्थितिमै पुनः सञ्चालन भएको थियो । सो बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित सबै विभागीय मन्त्रीहरूले प्रदेशसभा सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दिए ।
मन्त्रीहरूको जवाफ सकिएपछि सभामुख यादवले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ पारित भएको घोषणा गरे । प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९÷८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।
यस्तै मधेस प्रदेशसभाको आजैको बैठकले प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा मधेस प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेश मामिलामन्त्री प्रमोदकुमार यादवले प्रस्तुत गर्नुभएको सो विधेयक पारित भएको सभामुख यादवले घोषणा गरे ।
त्यस्तै आजको बैठकले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याप्रति शोक प्रस्ताव पारित गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । प्रदेशसभाको अर्को बैठक भोलि असार २६ गते बिहान ९ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २५ असार २०७९, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु
मधेस प्रदेशमा धान उत्पादन बढ्यो
मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने
प्रधानमन्त्री ओलीले अर्ब घुस खाँदा केही नहुने रहेछ : रामेश्वर राय यादव
मैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिँहद्वारा निरीक्षण
संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित: मुख्यमन्त्री सिंह