जापानमा अत्यधिक सामाजिक दबाबका कारण दशकौँ कोठामै सीमित भएर बाच्ने अवस्था–‘हिकिकिमोरी’ बढ्दै

शुक्रबार, १८ जेठ २०७५, १३ : ४२
जापानमा अत्यधिक सामाजिक दबाबका कारण दशकौँ कोठामै सीमित भएर बाच्ने अवस्था–‘हिकिकिमोरी’ बढ्दै

लगभग तीन वर्षका लागि युतो योनिचीको संसार उनको शयन कक्षमा सीमित भयो । उनी दिनमा सुत्थे र राति जागा बस्थे । त्यो जागेको समय उनी इन्टरनेट चलाएर र कमिक्स पढेर बिताउँथे ।

यो अवधि युतोले सम्पूर्ण साथीहरू र आफन्तहरूको सम्पर्क र संवादहरू सबै पन्छाए । उनी मध्य रातको अन्धाकारमा खानाका लागि निस्कन्थे । जापानीमा यो अवस्थालाई जनाउनको लागि एक अलग शब्द छ– हिकिकिमोरी ।

“हिकिकिमोरी भएपछि तपार्इं यथार्थमाथिको पकड गुमाउनुहुन्छ । मलाई आफ्नो अवस्था खराब हो भन्ने थाहा थियो तर म बदलिन चाहन्नथेँ । किनकि कोठामा म सुरक्षित महसुस गर्थें,” युतोले भने ।

हाइ स्कुलमा युतो क्लास लिडर थिए । पढाइमा सोचे अनुरूप गर्न नसकेपछि उनी आफूलाई असफल ठान्न थाले । त्यसको लाज र अरूले के भन्लान् भन्ने डर सहन नसक्ने भएपछि उनी आफूलाई आफ्नो कोठामा सीमित गरे ।

युतो र दशौं लाख जापानी युवाहरूका लागि परिवार र समाजको दबाब सहन गर्न सक्नेभन्दा उच्च हुने गर्छ ।

“पश्चिमी समाजमा यदि कोही घरभित्र मात्रै समय बिताउन थाल्यो भने तपाईंलाई बाहिर जानका लागि भनिन्छ, प्रोत्साहित गरिन्छ । जापानमा त्यस्तो गरिन्न । त्यसपछि यथार्थको सम्पूर्णता ‘स्कृन’मा खुम्चन्छ । जीवनको व्यावहारिक पाटो बाँकी नै रहँदैन । यहाँको संस्कृति पनि लज्जाको भावना विकास गर्ने खालको छ । यसका साथै जापानमा आमामाथि बढी निर्भर हुने खालको संस्कृति छ ।” अर्का एक हिकिकिमोरीले भने ।

हिकिकिमोरी अवस्थाको उपचारका लागि आजकल यो अवस्था भोगिरहेकाहरू समूह बनाएर एक ठाउँमा भेला हुने गर्छन् । उनीहरू समूहमा एक अर्कालाई आफूहरूमा कमजोर रहेको सञ्चार सीप विकास गर्न र विश्वास गर्ने वातावरण सिर्जना गर्नका लागि सहयोग गर्छन् ।

यस्ता समूहमा अन्तक्र्रिया थेरापीका लागि आउने हिकिकिमोरीहरूले एउटै कोठामा दशकौं बिताएका छन् । त्यसैले उनीहरूका लागि घरबाट निस्केर यस्तो सहयोग समूहमा आउनु र एकअर्कासँग संवाद गर्नु पनि ठूलो प्रगति हो । यस्ता समूहमा यस्तै ससाना प्रगतिहरूको उल्लेख गरेर अर्कोलाई प्रोत्साहित गरिन्छ । जस्तो एबीसी न्युजका रिपोर्टर गएको एक समूहमा एक महिलाले आफूले बजार गएर किनेको पहिलो टिसर्ट समूहका सदस्यहरूलाई देखाउँदै थिइन् ।

तर समूहमा सबै जना सहज देखिएका थिएनन् । उनीहरू जति लामो समय कोठामा रहन्छन् त्यति नै उनीहरूलाई समाजमा फर्कन गाह्रो हुन्छ ।

युतो योनिची आफै छ महिनाअघि कोठामा निस्कन थालेका हुन् । प्रारम्भतिरै भएको हस्तक्षेपले उनलाई समाजमा पुनस्र्थापित हुन सहज भयो ।

“भविष्यसँगको साक्षात्कारको कल्पना डरमर्दो हुन्छ । त्यसलाई सहनु झनै गाह्रो हुन्छ । तर साथीहरूको साथमा यो रमाइलो हुनेगर्छ । त्यसपछि तपाईं निश्चित रूपमा भविष्यप्रति सकारात्मक हुन सक्नुहुन्छ ।” युतोले भने ।

युतो हिकिकिमोरी अवस्थाबाट गुज्रेकाहरूलाई पढाउन केन्द्रित स्कुलमा भर्ना भएका छन् । यसबाट पनि उनलाई सामाजीकरण हुन झन् सहयोग भएको छ ।

“हिकिकिमोरी अवस्थामा पुगेपछि तपाईं आफ्नो भविष्य अन्धकार लाग्छ । त्यसैले हामीले उठाउने पहिलो कदम भनेको उनीहरूलाई तिनको भविष्य रहेको अझ सन्तुष्ट हुन सक्ने भविष्य बाँच्न सक्ने विश्वास दिलाउनु हो ।” युतो पढ्ने स्कुलका एक शिक्षकले भने ।

युतो सुधारको बाटोमा छन् तर जापानका लागि चिन्ताको विषय भनेको अधिकांश हिकिकिमोरी आफ्नो कोठाबाट कहिल्यै निस्किँदैनन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस