विश्व

उत्तर कोरियामा किम जोंग उन भगवान जस्तै हुन्, यस्तो छ यहाँको भित्री दुनियाँः दुई नागरिकको बयान

विहीबार, १७ जेठ २०७५, १० : ११
उत्तर कोरियामा किम जोंग उन भगवान जस्तै हुन्, यस्तो छ यहाँको भित्री दुनियाँः दुई नागरिकको बयान

उत्तर कोरियामा गएर त्यहाँका नागरिकसँग कुरा गर्नु लगभग असम्भव छ । यदि कोही बाहिरका व्यक्ति उत्तर कोरिया जान्छ भने पुलिसले ती व्यक्तिमाथि कडा निगरानी राख्छ । त्यहाँका नागरिकलाई पनि बाहिरी दुनियाँसँग कुनै प्रकारको सम्पर्कबाट वञ्चित गरिन्छ ।

तर उत्तर कोरियाका दुई नागरिकले हत्या वा कैदको खतरा हुँदाहुँदै पनि बीबीसीसँग कुराकानीका लागि तयार भए । यसै क्रममा उनीहरुले यो रहस्यमयी देशका केही यस्ता जानकारीको पर्दाफास गरेका छन् ।

उत्तर कोरियामा नेता किम जोंग उनलाई भगवानजस्तै मानिन्छ, त्यसकारण उनीमाथि प्रश्न उठाउने बारे कसैले सोच्नसमेत सक्दैनन् ।

किम जोंग उनलाई सबै कुरा थाहा हुन्छ र यदि त्यहाँका नागरिकलाई किमविरुद्ध विचार राख्ने कुनै पनि व्यक्ति, परिवारका सदस्य नै किन नहोस्, बारे थाहा भए यसबारे प्रशासनलाई जानकारी दिनुपर्छ भनी बारम्बार सिकाइन्छ ।

यस्तोमा किम जोंग उनको प्रशासन विरुद्ध बोल्ने हिम्मत गर्ने सुन हुईलाई राम्रोसँग थाहा छ कि यस्तो गरेर उनले आफ्नो ज्यान खतरामा पारेकी छिन् ।

उनको सुरक्षालाई ध्यानमा राखेर बीबीसीले उनको पहिचान लुकाएको छ र उनको वास्तविक नामको साटो परिवर्तित नाम राखेको छ ।  

यदि उत्तर कोरियाको सरकारलाई सुन हुईको वास्तविक पहिचान थाहा भए, उनलाई कडाभन्दा कडा वा फाँसीको सजायँको सम्भावना छ । जेलको सजायँ उनले मात्र नभई उनका तीन पुस्ताले समेत भोग्नुपर्छ ।

‘किम पैसा चुस्ने भ्याम्पायर’
सुन हुई व्यापारी हुन् । उनी रिसाउँदै भन्छिन्, ‘किम जोंग उन व्यापारीले झैं काम गर्दछन् । उनको यो बानीलाई धेरैजसोले आलोचना गर्छन् । उनले हाम्रो सबै पैसा हामीबाट खोस्छन् ।’ उनी भन्छिन्, ‘मानिसहरु भन्छन् कि साना देखिने किमले भ्याम्पायरले झैं बुद्धि लगाएर हाम्रो पैसा चुस्छन् ।’ सुन हुई आफ्ना श्रीमान् र दुई छोरीसँग बस्छिन् । जब उनको व्यापार राम्रो चल्छ तब उनको परिवारले तीन छाक खान्छ । यदि राम्रो चलेन भने उनीहरुले सुख्खा रोटीमै काम चलाउनुपर्छ ।

सुन जुन बजारमा काम गर्छिन् त्यहाँ स्ट्रिट फूड, कपडा र तस्करी गरिएका इलेक्ट्रोनिक सामान पाइन्छ । यो बजारमा ५० लाखबढी मानिसको रोजगार निर्भर हुन्छ । यो मार्केट ट्रेड उत्तर कोरियाको सरकारको कट्टर सम्यवाद विपरित छ । यद्यपी, उत्तर कोरियाविरुद्ध लगाइएका थुप्रै आर्थिक प्रतिबन्धका बीच यो बजारले ठूलो जनसंख्याको पेट भरिरहेको छ ।

९० को दशकमा देखिएको अकालको स्थिती सामना गर्न नपरोस् भन्ने उद्देश्यले उत्तर कोरियाली सरकार यो मार्केटको विरुद्धमा उठ्न सक्दैन । स्थानीय मानिसहरुलाई लाग्छ कि किम जोंग उनमा सकारात्मकता बढिरहेको छ । सायद यसैकारण पनि उनले उक्त मार्केटविरुद्ध कुनै कारवाही गर्दैनन् ।

उक्त मार्केटमा थुप्रै पटक अफवाहले बजार तताउँछ ।

सुन हुई भन्छिन्, ‘मैले मार्केटमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरिया आउँदैछन् भन्ने पनि सुनेको छु ।’

‘मानिसहरु दुबै देशका शीर्ष नेताबीच प्रस्तावित बैठबारे त्यती जानकार छैनन् । तर यहाँका कोही पनि मानिसलाई अमेरिका मन पर्दैन ।’

उनी भन्छिन्, ‘हामी उत्तर कोरियाली नागरिक यो मान्यता राख्छौं कि अमेरिकाले हामीलाई दक्षिण कोरियाबाट अलग्गाएकाले हामी गरिब भएका हौं ।’

उत्तर कोरियाको सरकार आफ्नो देशको कुनै पनि जानकारी बाहिर जान दिँदैन । उसको यही प्रोपोगान्डालाई अमेरिका र उनका छिमेकी देश दक्षिण कोरियाले आलोचना गर्ने गर्दछ ।

दक्षिण कोरिया र अमेरिकासँग सम्बन्ध सुधारका लागि हालै उत्तर कोरियाले आफ्नो परमाणु स्थल नष्ट गरेको थियो । उत्तर कोरिया र अमेरिकाका प्रमखु नेता जून १२ मा भेटघाट गर्ने बताइएको छ ।  

उत्तर कोरियाका अर्का नागरिक चोल हो ले पनि बीबीसीसँग कुराकानी गरेका छन् । उनले त्यहाँका ती नागरिकको समस्या बारे बताएका छन् जो आफ्नो दैनिकीका लागि अत्यधिक समस्याको सामना गरिरहेका छन् ।

चोल होले भने, ‘थुप्रै पटक मानिसहरुलाई गलत कुरा बोलेको आरोपमा पक्राउ गरिन्छ । मानिसहरु अचानक गायब हुने गर्दछन् । तर केही दिन यता यस्तो भएको छैन । ’

चोल हो जुन अचानक गायब भएका मानिसहरुको कुरा गरिरहेका छन्, उनीहरुलाई धेरैजसो उत्तर कोरियाको जेल शिविरमा पठाउने गर्छ । त्यहाँ ती व्यक्तिलाई अत्यधिक यातना दिइन्छ । उनीहरुलाई आफ्नै चिहान खन्न बाध्य बनाइन्छ । यति मात्र होइन, सजायँको रुपमा यहाँका महिलालाई बलात्कारसमेत गरिन्छ ।

एमनेस्टी इन्टरनेशनलका अनुसार एक शिविरमा २० हजार कैदीलाई राखिन्छ ।

सुन हुईका अनुसार यी शिविरमा दिइने डरलाग्दो सजायँको डरले पनि मानिसहरु चुप बस्ने गर्दछन् ।

उनी भन्छिन्, ‘म जहाँ बस्छु, त्यहाँबाट थुप्रै मानिसहरुलाई पक्राउ गरेर ती शिविर पठाइसकिएको छ ।’

चोल होको मान्यता अनुसार रक्षा विभागका केही मानिसहरु आफ्नो नम्बर बढाउनका लागि मानिसहरुलाई झुटो आरोप लगाएर शिविर पठाइरहेका छन् । उनीहरुलाई ‘चीन जाने योजना बुनिरहेको’ भन्न बाध्य बनाइन्छ ।

यदि उत्तर कोरियामा कसैले तस्करी गरेर विदेशबाट ल्याएको फिल्म वा टिभी कार्यक्रम हेरेको थाहा भए, उनीहरुलाई पक्राउ गरेर हार्ड लेबर क्याम्पमा १० वर्षको कडा सजायँ दिइन्छ ।

वास्तवमा उत्तर कोरिया आफ्ना नागरिकले विदेशी मिडिया हेरुन् भन्ने चाहँदैन । यो उनको पश्चिम विरोधी प्रोपोगान्डाको हिस्सा हो ।

तर उत्तर कोरियाका मानिसहरु भने चीनको बाटो हुँदै यूएसबी स्टीक र डीभीडीमा विदेशी फिल्म र कार्यक्रम ल्याउने गर्दछन् ।

उत्तर कोरियाका मानिसहरु आफ्ना विभिन्न कोसिसमार्फत बाहिरी दुनियाँको एक झलक भएपनि हेरिरहेका छन् तर उनीहरुलाई यो थाहा छैन कि दुनियाँले उनीहरुलाई कस्तो नजरले हेरिरहेको छ ।

चोलका अनुसार उनले अहिलेसम्म उत्तर कोरियाका मानिसहरुलाई मात्र भेटेका छन् । उनलाई थाहा छैन कि अन्य देशका मानिसहरुले उनीहरुबारे के सोच्छन् ।

तर उनी आफ्नो देशका मानिसहरुबारे जानकारी दिँदै भन्छन्, ‘यहाँ अत्यधिक समस्या भएपछि यहाँका मानिसहरु निकै राम्रा छन् ।’ चोल भन्छन्, ‘हाम्रो यहाँ एक भनाई छ, ‘छिमेकी आफन्तभन्दा राम्रा हुन्छन् ’ यदि छिमेकीलाई केही भइहाले हामी उनीहरुलाई यथाशक्य सहयोग गर्छौं ।’

सुन हुई राती थुप्रै पटक दक्षिण कोरियाका कार्यक्रम र विदेशी फिल्म हेर्ने बताउँछिन् । ‘यद्यपी, यी कार्यक्रम हेरिरहेको अवस्थामा पक्राउ परे कडाभन्दा कडा सजायँ र मनग्गे घुस दिनुपर्ने हुन्छ । तर यसबारे थाहा हुँदा हुँदै पनि मानिसहरु लुकीलुकी टेलिभिजन हेर्ने गर्छन् ।’

हुईका अनुसार दक्षिण कोरियाको कार्यक्रम बुझ्न सजिलो हुन्छ । यहाँका मानिसहरु दक्षिण कोरियाले कस्तो जीवनयापन गरिरहेका छन् भन्ने बारे जान्न इच्छुक हुन्छन् । उत्तर कोरियाका केही मानिसहरु त्यहाँको आफ्नो जीवनबाट आजित भएर भाग्ने गर्छन् । उनीहरु आफ्नो ज्यान दाउमा राखेर चीनको बाटो हुँदै दक्षिण कोरिया जान्छन् ।

पछिल्ला केही वर्षहरुमा मानिसहरु भाग्न कम भएको छ । यसको मुख्य कारण उत्तर कोरियाको सीमामा सुरक्षाबलको बढ्दो निगरानी र चीनसँग भएको विवादित सम्झौता हो । यो सम्झौता अनुसार यदि चीनमा उत्तर कोरियाका कोही नागरिक पाइए उनीहरुलाई स्वदेश फिर्ता पठाइन्छ ।

सुन हुई देशको सीमाभन्दा निकै पर छिन् । उनका अनुसार उनको इलाकाबाट भाग्ने मानिसहरु निकै कम छन् । यदि कोही भागिहाले पनि छिमेकीले दक्षिण कोरियाको नाम लिँदैनन् । सुन भन्छिन्, ‘जब कुनै छिमेकी गायब हुन्छन् तब हामी ती व्यक्ति ‘लोअर टाउन’ गएका छन् भन्छौं ।’ -बीबीसी

प्रतिक्रिया दिनुहोस