आजदेखि पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई खोप

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, ०७ : २९
आजदेखि पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई खोप

काठमाडौं । बिहीबारदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो । 

कार्यालयका प्रमुख वसन्त अधिकारीले यही असार १५ गतेसम्म काठमाडौँ जिल्लाका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए । देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ । 

उनका अनुसार बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो । कार्यालयले काठमाडौँका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ । उनले विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । 

असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालीकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।  यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ ।

पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहोस