उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, ११ : ५६
उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ।

केही दिनअघि मात्रै काठमाडौंको बागबजारका एकै घरका दुई दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो।   पछिल्लो समय हैजा पुष्टि भएका बिरामी बागबजार क्षेत्रका होइनन्। ती बिरामी ललितपुरका भएको चिकित्सकले बताएका छन्। उनीहरुको टेकु अस्पतालमै उपचार भइरहेको छ। 

‘चार दिनअघि बागबजारका दुई बिरामीमा हैजाको संक्रमण देखिएको थियो। मंगलबार संक्रमण पुष्टि भएका बिरामी ललितपुरको सानेपा क्षेत्रका हुन्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डा. शेरबहादुर पुनले  भने, ‘यसले हैजाको संक्रमण उपत्यका भरी नै फैलिने जोखिम बढाएको छ। यसतर्फ हामी सजग हुनुपर्छ।’

भिब्रियो कलेरा नामक ब्याक्टेरिया दूषित पानीको माध्यमबाट मानिस फैलिन्छ। पुनका अनुसार हैजा छिटो फैलिने सरुवा रोग भएकाले आवश्यक सतर्कता अपनाइएन भने यो महामारीको रुपमा फैलिने जोखिम रहन्छ। हैजा संक्रमण देखिएपछि महाशाखाले केही दिनदेखि बागबजार क्षेत्रको ढल, पानी, खाद्यलगायतको नमूना संकलन गरिरहेको छ। 
 

प्रतिक्रिया दिनुहोस