इरानी विदेशमन्त्री भारत जाने

सोमबार, १४ जेठ २०७५, १५ : २७
इरानी विदेशमन्त्री भारत जाने

तेहरान । इरानी विदेशमन्त्री मोहमद जाभेद जरिफले अगामी आइतबारबाट भारतको भ्रमण सुरु गर्नुहुने भएको छ । उहाँ द्विपक्षीय वार्ताको लागि आइतबार भारततर्फ जान लाग्नुभएको इरानी सरकारी समाचार समिति इर्नाले जनाएको छ ।

दुबै देशको राजनीतिक र आर्थिक पक्षमा छलफल हुने अपेक्षा गरिएको यस वार्ताको प्रतिनिधिमण्डलमा जरिफ प्रमुख रहनुहुने इरानको विदेश मन्त्रालयका प्रवक्ता बारम कासेमीलाई उद्धृत गर्दै इरानको समाचार समिति इर्नाले जनाएको छ ।

यस भ्रमणको क्रममा उहाँले आफ्ना भारतीय समकक्षीलगायत सरकारी उच्चस्तरीय व्यक्तिहरुसँग भेटवार्ता गर्नुहुने छ । साथै भेटवार्ताको क्रममा पछिल्लो समयमा क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा उठेका विविध समसामयिक विषयहरुको समिक्षा गरिने पनि इरानको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

गत फेब्रुअरीमा इरानका राष्ट्रपति हसन रोहानीले भारत भ्रमणका लागि राजधानी नयाँ दिल्ली पुग्नुभएको थियो । सो भ्रमणको क्रममा दुई देशको आर्थिक पक्षलाई समेट्ने नौ वटा सम्झौताहरु भएका थिए । इरान र भारतबीच मित्रवत सम्बन्ध रहदै आएको र कैयौँ क्षेत्रमा महत्वपूर्ण व्यापारिक सम्भौताहरु पनि भएका समाचारमा जनाइएको छ ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस