काठमाडौं । बजारमा मोटोपन घटाउने सूत्र बिक्री हुन्छ । ‘१५ दिनमा यति केजी तौल घटाउने’ भन्दै गरिने प्रचारमा मान्छे झुम्मिएका छन् । यसको स्पष्ट संकेत हो, मानिसहरु मोटोपनबाट हैरान छन् ।
मोटोपन कसरी घटाउने ? कसरी तौल नियन्त्रण गर्ने ?
मान्छेले यसमा अनेक तौरतरिका अपनाउने गरेका छन् । कोही ‘बोसो पगाल्ने’ उपकरणको सहारा खोजिरहेका छन्, कोही ‘फास्टिङ’ बसिरहेका छन् । कतिले शारीरिक व्यायामबाट त कतिले विभिन्न औषधिबाट मोटोपन नियन्त्रणको उपाय खोजिरहेका छन् ।
मान्छेहरु अन्धाधुन्ध मोटोपन घटाउनतर्फ लाग्छन् । हामी देख्न सक्छौं, मोटोपन घट्यो भनेर सामाजिक सञ्जालमा फोटो राखिरहेका हुन्छन् । उनीहरु दुब्लो त देखिन्छन्, तर रुपरंग नै उडेको देखिन्छ । अनुहार एवं छालाको चमक हराएको हुन्छ ।
किन यस्तो हुन्छ ?
अन्धाधुन्ध खानपान छाडेर वा कडा व्यायाम गरेर मोटोपन घटाउँदा त्यसले अपेक्षित नतिजा त दिंदैन नै, नकारात्मक असर गर्ने डर हुन्छ । ‘यति दिनमा मोटोपन घटाइन्छ’ भन्ने प्रचारबाजीले धेरै मान्छेलाई झुक्याएको छ । किनभने मोटोपन घटाउने यस्तो कुनै सूत्र हुँदैन, जुन सबैको लागि एकनास हुनेगर्छ । मान्छे के कारणले मोटाएको हो ? कति मोटाएको हो ? कुन उमेरको हो ? यसबाट उनीहरुको मोटोपनको स्थिति थाहा पाउन सकिन्छ । र, त्यही अनुसार मोटोपन नियन्त्रणको उपाय खोज्न सकिन्छ ।
एकै पटकमा १५ किलो तौल घट्यो ?
धेरैजसोलाई लाग्छ, आठ(१० दिनमै १५ किलो तौल घट्छ । तर जादुको छडीले छोए जसरी तौल घटाउने प्रक्रिया हुँदैन । तौललाई एउटा निश्चित प्रक्रियाबाट घटाइन्छ र यसका लागि लामो समय लाग्न सक्छ ।जस्तो उचित खानपान गर्ने, सही व्यायाम गर्ने, सन्तुलित दिनचर्या अपनाउने । यस्ता विधिबाट क्रमशः तौल नियन्त्रण गर्न सकिन्छ । तौल घटाउने उपयुक्त तरिका पनि यही हो । मान्छेको अवस्था वा शरीरको बनोटअनुसार कति अवधिमा तौल नियन्त्रण गर्ने भन्ने कुराको टुंगो लाग्छ ।
मान्छेले छिटो तौल घटाउनका लागि खाना खानै छाड्छन् । अन्धाधुन्ध कडा व्यायाम गर्न थाल्छन् । यसो गर्दा उनीहरुको तौल त घट्न सक्छ । तर यो प्रक्रिया गलत हो । किन गलत भने यसरी तौल घटाउँदा शरीरको जुन तत्व घट्नुपर्ने त्यो घट्दैन । जस्तो घटाउनुपर्ने बोसो हो । तर सन्तुलित खानपानको अभावमा मांसपेशी घट्छ । अन्ततः मान्छे दुब्लो, चमकहीन देखिन्छ । किनभने यसरी तोल घटाउँदा शरीरमा पोषक तत्वको अभाव हुन्छ । र, मान्छे कुपोषणग्रस्त जस्तै देखिन्छन् । बोसोलाई कम गराउने चक्करमा बोसोसँगै मांसपेशीपनि घटाउँदै लैजाँदा भविष्यमा दीर्घरोगको सम्भावना हुने गर्छ ।
तौल बढाउने र घटाउने सन्दर्भमा खाना मुख्य हुन्छ । यसको बढी र कम प्रयोगले शरीर असन्तुलन बन्दछ । झरिलोभरिलो शरीरको लागि कुनै मानिसको उचाई ५ फिट ५ इन्च, तौल ६० केजी र उमेर २५ वर्ष छ भने दिनमा त्यो व्यक्तिलाई १८ सय क्यालोरी आवश्यक पर्दछ । कम क्यालोरी खाने र आवश्यकताभन्दा बढी एक्सरसाइज गर्दा शरीरमा भएको बोसो मात्र नभएर मांसपेशी घट्ने हुँदा सबैभन्दा पहिले खानालाई व्यवस्थापन गर्नुपर्छ । १८ सय क्यालोरी चाहिएको छ भने शरीरलाई ८ सय क्यालोरी पनि खाँदा यसले दूरगामी असर पार्छ ।
स्वस्थ शरीरको लागि के गर्ने ?
स्वस्थ शरीरका लागि विभिन्न तत्वको आवश्यकता हुन्छ । तौल कम गर्ने दौडमा हामीले शरीरको लागि नभई नहुने तत्व खाना छुटाइरहेका छौं । जुन हाम्रो लागि अत्यावश्यक हुन्छ । मोटोपनबाट बच्न अहिले कार्बोहाइड्रेट नखाने प्रवृत्ति बढ्दै गएको छ । शरीरलाई स्वस्थ रहन ऊर्जा चाहिन्छ । त्यो ऊर्जा कार्बोहाइड्रेटदेखि पाइन्छ ।
त्यस्तै शरीरलाई बलियो राख्न प्रोटिनको महत्व उत्तिकै हुन्छ । हरियो सागसब्जीमा प्रशस्त फाइबर पाइन्छ । यसलाई बढाउनुपर्छ । हामीले सबै बोसो पाइने पदार्थलाई राम्रो मान्ने गर्दैनौं । तर सबै बोसो नराम्रो पनि हुँदैन । राम्रा बोसोको स्रोत एभोकार्डो, काजु बदाम जस्ता खानेकुराबाट पाउन सकिन्छ ।
हाम्रो शरीरलाई चाहिने चार आवश्यक तत्वः
बढी प्रोटिन
कम कार्बोहाइड्रेट
बढी फाइबर
र राम्रो बोसो (गुड फ्याट)
प्रत्येक व्यक्तिले बडी मेटाबोलिक रेट ९बीएमआर० अनुसार खानुपर्छ । हामी जस्तो भूगोलमा बस्छौं जस्तो खाना खान्छौं, आफ्नो उमेर अनुसारको खाना मिलाएर खानु उत्तम हुन्छ । शरीरलाई धेरै थकाउने, कडा एक्सरसाइज गर्ने बानीले शरीरलाई एकदमै थकाउँछ र शरीरले खानाको माग एक्सरसाइज अनुसारको नै खोज्छ । तर मोटोपनको डरले चाहिने खानाबाट पर बस्दा यसले शरीर खिङरिङ्ग देखिने र शरीर कमजोर हुँदै जाने सम्भावना हुन्छ ।
हल्का खानाको भ्रम
मोटोपनको डरले दालभात जस्ता खानालाई भन्दा फलफूललाई पनि धेरै जोड दिएको पाइन्छ । तर यसलाई एकदमै होस गरेर खानुपर्छ । धेरै फलफूल खाने गर्दा क्यालोरी र चिनीको मात्रा बढी हुन्छ । दिनमा एउटा स्याउलाई दुई पटक खाँदा त्यो राम्रो हुन्छ । एकैचोटि दुईभन्दा बढी स्याउ खाँदा यसले शरीरलाई असन्तुलन गराउँछ । हरेक खानाको बीचमा समयको फरक हुनुपर्दछ । एकैचोटि एक थाल खानुभन्दा तीन(तीन घण्टामा भाग लगाएर खाँदा यो लाभदायी हुन्छ ।
शरीरलाई चाहिने भन्दा कम खाना, एक्सरसाइज बढी गर्नुलाई ओभरट्रेन भनिन्छ । जसले बोसो घटाउँछ, सँगै मांसपेशी पनि घटाउँछ, यसले दूरगामी असर पुर्याउँछ । त्यसैले पातलो र चिटिक्क परेको शरीर होइन, आफ्नो उमेर र उचाई अनुसार तौल राख्नुपर्छ । प्रत्येक अंगको लागि हरेक प्रकारको पोषण चाहिन्छ । सन्तुलित भोजनको सेवन र दिनमा आधा घण्टादेखि ४५ मिनेट एक्सरसाइज गर्नु उत्तम हुन्छ ।
प्रकाश केसी
फिटनेस ट्रेनर
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, ०८ : ०५
लेखकबाट थप