जनकपुरधाम । स्थानीय निर्वाचन सकिएको तीन साता बित्यो। मत परिणाम आएर जनप्रतिनिधि पनि चुनिए। कार्यपालिका गठन भयो। तर, जनकपुरधाममा निर्वाचनका समयमा टाँसिएकारटाँगिएका प्रचार सामग्री अझै छरपस्ट छन्। हटाइएका छैनन्।
निर्वाचनमा दल र उठाइएका उम्मेदवारको घोषणापत्रमा एउटा मुख्य नारा थियो– ‘जनकपुरधामको फोहोर व्यवस्थापन र सुन्दरता।’ तर, उनीहरूले नै गरेको फोहोर अझै छरपस्ट छ। न जितेका जनप्रतिनिधिले यसको व्यवस्थापन गरे, न त नारा लिएर उठेका उम्मेदवारले नै। अहिले यही निर्वाचन सामग्रीले जनकपुर कुरूप बनेको छ। धार्मिक सम्पदा, मठमन्दिर, पार्टी–पौवा र गुठीको सुन्दरता उडेको छ।
निर्वाचन प्रचारका क्रममा जिल्लाका राजनीतिक दल र तिनका उम्मेदवारले मत माग्न प्रयोग गरेका प्रचार सामग्रीहरू हटाउने तर्फ भने कसैले ध्यान दिएका छैनन्। यसको धेरै असर मधेसको राजधानी सदरमुकाम जनकपुरधाम र मुख्य बजार क्षेत्रमा परेको छ। दलहरूले विभिन्न स्थानमा टाँगेका झन्डा, चुनाव चिह्न, पर्चा र पम्प्लेटहरू हटाएका छैनन्।
आफ्नो पक्षमा माहोल सिर्जना गर्न र मतदातालाई आकर्षित गर्नका लागि निर्वाचन भन्दा अगाडि दलहरूले प्रचार सामग्रीमा चर्को प्रतिस्पर्धा नै गरे। सार्वजनिक स्थल, ऐतिहासिक तथा धार्मिकस्थल, बाह्रबिघा, तिरहुतिया गाछी, जानकी मन्दिरको पर्खाल मात्र होइन सार्वजनिक पार्टीपौवा र चौतारा पनि छाडेनन्। सरकारी कार्यालयका गेट र पर्खालहरूमा जथाभावी टाँसिएका पर्चा र अझै यत्रतत्र छन्।
सार्वजनिक स्थलका रूखदेखि विद्युत्का पोल पनि पर्चाले बाँकी रहेनन्। लाखौं रकम खर्चेर प्रतिस्पर्धी पार्टीभन्दा दोब्बर प्रचारप्रसार गर्ने र जनताको मन जित्न दलहरूबीच रस्साकस्सी नै चल्यो। यसकारण प्रचार सामग्रीको प्रयोग बढी भयो। निर्वाचनको मत परिणाम सार्वजनिकपछि दलहरू समीक्षा र विजयी जुलुसमा देखिँदै कार्यकाल सुरु गरिसकेका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २१ जेठ २०७९, ०७ : ०६
लेखकबाट थप