संयुक्त राज्य अमेरिका । क्यानडाको टोरन्टो नजिकै रहेको एउटा भारतीय रेष्टुरेण्टमा बिहीबार राति गराइएको विष्पोटका कारण कम्तीमा १५ जना घाइते भएका क्यानाडाको प्रहरीले जनाएको छ । टोरन्टोदेखि पश्चिममा रहेको मिसिसाउगा शहरी क्षेत्रमा रहेको रेष्टुरेण्टमा भएको विष्फोटमा परी घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको क्यानडाली अधिकारीले बताएका छन् ।
“दुईजना नकावधारी पुरुष बम्बई भेल रेष्टुरेण्टमा प्रबेश गरी विष्फोटक पदार्थ राखेर भागेका प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ,” पिल क्षेत्रका सर्जेन्ट माट बेट्रामले बताउनुभयो । विष्फोटक पदार्थ राखिएको केही समयमै विष्फोट भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उहाँले सञ्चारकर्मीलाई बताउनुभयो ।
“हामीसँग घटना आतङ्कवादी आक्रमण वा वदलाको भावले गरिएको आपराधिक आक्रमण हो भन्ने जानकारी भैसकेको छैन,”बेट्रामलाई उद्धृत गर्दै क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनले जनाएको छ । घटनाबारे छानविन भइरहेकोले यस विषयमा तत्काल अरू जानकारी दिन नसकिने उहाँले बताउनुभयो ।
आक्रमणकारीले विष्फोटक पदार्थ छोडेर भाग्दा केही नभनेका पाइएकोे बेट्रामले बताउनुभयो । “उनीहरू एकाएक ग्राहकको रूपमा रेष्टुरेण्ट प्रवेश गरी विष्फोटक पदार्थलाई भुँईमा राखी भागेका बताइएको छ,” उहाँले थप्नुभयो । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस