ट्रम्पद्वारा किमसँगको शिखर वार्ता स्थगित भएको घोषणा

शुक्रबार, ११ जेठ २०७५, ०८ : ४८
ट्रम्पद्वारा किमसँगको शिखर वार्ता स्थगित भएको घोषणा

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको शिखर वार्ता स्थगित गरिएको बताउनुभएको छ । किमलाई बिहीबार एक पत्र पठाउदै ट्रम्पले आउँदो जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको शिखर वार्ता स्थगित गरिएको जानकारी गराउनु भएको हो ।

उत्तर कोरियाको प्रशासनले अमेरिकासँग शत्रुतापूर्ण व्यवहार नत्यागेकाले शिखर वार्ता स्थगित गर्नु परेको ट्रम्पले पत्रमा उल्लेख गर्नुभएको छ । “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरुका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु,” ट्रम्पले पठाउनु भएको पत्रमा लेखिएको छ ।

यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गरेपछि उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्र्ख’को संज्ञा दिएको थियो । ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको हो । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस