काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताएका छन्। सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताएका हुन्।
उनले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए। उनले स्थानीय तहलाई बलियो बनाउन नसके जनताको इच्छा र आकांक्षालाई पूरा गर्न नसकिने बताए।उनले भने, ‘स्थानीय तह भनेको लोकतन्त्रको आधारस्तम्भ हो। लोकतन्त्रको प्राणवायु हो। त्यसैले यसलाई बेष्ट स्कूल अफ डेमोक्रेसी पनि भन्ने गरिन्छ। र जबसम्म स्थानीय तहलाई हामीले बलियो बनाउन सक्दैनौँ, जनताका इच्छा, आकांक्षा, चाहना पूरा गर्न सक्ने सबल र सक्षम बनाउन सक्दैनौँ, त्यतिबेलासम्म आम नागरिकको भरोसा, विश्वास कम हुने भएकाले म स्थानीय तहलाई बलियो बनाउन आवश्यक कानून, आवश्यक साधनस्रोत र जनशक्ति व्यवस्थापन गर्न अनुरोध गर्दछु।’
राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले सरकारले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गराएर सरकार हुनुको अनुभूति दिलाउन नसकेको बताए।मूल्यवृद्धि गराएर जनताको ढाड सेकाएको र जनताप्रति उत्तरदायी नभएको उनले बताए। मुल्यवृद्धिको कारण सबै क्षेत्रमा असर पुगेको उनको भनाइ छ।यस्तै राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई अनुरोध गरे। मूल्यवृद्धिका कारण सरकारप्रति नकारात्मक धारणा बनेको उनले उल्लेख गरे।उनले स्थानीय तह निर्वाचन धेरै महँगो भएको भन्दै महँगो निर्वाचन प्रणालीलाई सच्याउनुपर्ने बताए। उनले स्थानीय तहमा स्वतन्त्र प्रणाली विकास गर्ने तथा संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली गर्नुपर्ने बताए।
उनले मंकीपक्स संक्रमण विश्वका विभिन्न देशमा फैलिइसकेकाले नेपालमा यो संक्रमण भित्रिन नदिन सरकारले बेलैमा ध्यान दिनुपर्ने बताए। राष्ट्रिय सभा सदस्य शर्माले बलात्कार अपराधीलाई कानूनी दायरामा ल्याउन कानून संशोधन गर्नुपर्ने बताए। पीडितको न्यायका लागि सरकारले विशेष जोड दिनुपर्ने उनको भनाइ छ।
त्यसैगरी विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले देशमा महिला हिंसा र वलात्कारको घटना बढ्दै गएको बताइन्। उनले महिलाहरु कुनैपनि ठाउँमा सुरक्षित नभएको बताइन्।अपराधीहरु कानूनी प्रावधानका कारण उम्किने खतरा रहेको औंल्याउँदै उनले कानूनी व्यवस्थालाई संशोधन गर्नुपर्ने बताइन्। उनले यसतर्फ राजनीतिक दलहरुको पनि ध्यानाकर्षण गराइन्।
राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले बलात्कारीलाई आजिवन कैद किन नभएको? भनि सरकारलाई प्रश्न गरिन्। उनले बलात्कारीलाई हिरासतमा राखेर मात्रै पीडितले न्याय नपाउने उल्लेख गर्दै फाँसीको सजाय हुनपर्ने बताइन्।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले राज्यको कार्यकारी पदमा बसेका व्यक्तिले दुई पटकभन्दा बढी अवसर नपाउने व्यवस्था गर्न माग गरे। यसको निम्ति संविधान वा कानूनमै लेख्नुपर्ने उनको भनाइ छ। देवकोटाले स्थानीय तहको निर्वाचनमा दलीय प्रभाव नहुने गरी कानूनी र नीतिगत सुधार गर्नुपर्ने बताए।
राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले जनताको भोट पाएपछि सरकारले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गराएर जनतालाई चोट दिएको टिप्पणी गरिन्। उनले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गरिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, १५ : ३८
लेखकबाट थप