काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा सोमवार आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले पछिल्लो केही महिना यता अस्वाभाविक मूल्यवृद्धिले उपभोक्ता मारमा परेको बताएका हुन् ।उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेको बताए ।
'सरकारको काम व्यापार गरेर नाफा खाने मात्र होइन, समस्यामा परेका बेला कल्याणकारी भावना राखेर जनतालाई सहुलियत दिनु पनि हो,' उनले भने, 'पेट्रोलियम पदार्थमा लगाइएको ट्याक्स मात्रै खारेज गर्न सके आकासिएको मूल्यवृद्धिमा स्वत: गिरावट आउने छ ।' लोकतान्त्रिक सरकारले कल्याणकारी व्यवस्थाका लागि कतिपय अवस्थामा कठोर निर्णय पनि लिन सक्नुपर्ने उनले धारणा व्यक्त गरे ।
'जनताको अभिभावक सरकार हो । उसले जनताको सुख, दु:खमा साथ दिनुपर्छ । आफू भएको प्रत्याभूति गराउन सक्नुपर्छ । त्यसपछि मात्र सरकारप्रति जनताको विश्वास बढ्छ,' नेता महरले भने ।विदेशमा मूल्य बढेर आयो भन्दै नेपालमा पटक-पटक मूल्य वृद्धि गर्नु मात्रै समस्याको समाधान नहुने उनी बताउँछन् । यो समस्या समाधानका लागि सरकार गम्भीर बन्नु पर्ने महरको धारणा छ ।
अहिले बजारको मूल्यवृद्धि रोक्न नसके कालान्तरमा व्यापारीले चलखेल गर्न सक्ने अवस्था आउने र उपभोक्ता थप मारमा पर्ने जोखिम रहेकाले सरकार चनाखो बन्नुपर्ने उनी बताउँछन् ।बढेको मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, १२ : ३९
लेखकबाट थप