काठमाडौं । देशमा रहेका ६ वटा महानगरपालिकामध्ये एउटामा पनि नेकपा एमालेका उम्मेदवारले अग्रता लिन सकेका छैनन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दुई वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिले ती महानगरपालिकामा पनि अग्रता लिन सकेको छैन ।
हालसम्मको मतगणना अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, विराटनगर महानगरपालिका र विरगन्ज महानगरपालिकाको प्रमुख पदमा एमालेका उम्मेदवार अग्रस्थानमा आउन सकेका छैनन् ।
हालसम्मको मतगणना अनुसार ६ वटा महानगरपालिकाको प्रमुखमध्ये दुई वटामा नेपाली कांग्रेस, एउटामा नेकपा (माओवादी केन्द्र), एउटामा नेकपा (एकीकृत समाजवादी), एउटामा जनता समाजवादी पार्टी, नेपाल र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ८२० मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ५०७ मत पाएका छन् ।
ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । उनले हालसम्म ८७७ मत प्राप्त गरेका छन् । ललितपुरमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत प्राप्त गरेका छन् ।
पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् । उनले हालसम्म १ हजार १२१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवारले १ हजार ४० मत ल्याएका छन् ।
भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । उनले हालसम्म १ हजार ७२७ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ६४७ मत प्राप्त गरेका छन् ।
विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ५८३ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सागरकुमार थापाले १ हजार ६१५ मत ल्याएका छन् ।
विरगन्जमा महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका छन् । उनले हालसम्म १ हजार ८१० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विजयकुमार सरावगीले ७४७ मत ल्याएका छन् । प्रारम्भीक मतगणनामा ६ वटै महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने
एमाले सचिवालय बैठक आज बस्दै, वामदेवबारे छलफल हुने
विराटनगरमा १८ जना एमाले कार्यकर्ताले दिए सामूहिक राजीनामा