चुनावमा पैसा बाँडेको आरोप लागेका मुस्लिम आयोगका अध्यक्षलाई जनकपुरबाट काठमाडौं फर्काइयो

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १३ : ३३
चुनावमा पैसा बाँडेको आरोप लागेका मुस्लिम आयोगका अध्यक्षलाई जनकपुरबाट काठमाडौं फर्काइयो

काठमाडौं ।मतदाता प्रभावित पार्न चुनावमा पैसा बाँडेको आरोप लागेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले सुरक्षित रुपमा जनकपुर विमानस्थल पुर्‍याएको छ।  उनी हवाईमार्गमार्फत् जनकपुरबाट काठमाडौं फर्किएका छन्। 

मतदाता प्रभावित पार्न पैसा बाँड्न थालिएको भन्दै प्रहरीमा फोन आएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीप क्षेत्रीको टोली खटिएको थियो। मुस्लिम आयोगका अध्यक्ष अन्सारीले जनकपुरस्थित होटल सीता शरणमा बसेर पैसा बाँडिरहेको 'उजुरीकर्ता'को आरोप थियो।  

डीएसपी क्षेत्रीको टोलीले सुरुमा होटेल पुगेर सर्च गरेको थियो। त्यसक्रममा स्थानीयको समूहले होटलमा आएर हो–हल्ला गरेपछि अध्यक्ष अन्सारीलाई सुरक्षित रुपमाम विमानस्थल पुर्‍याइएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। 

'पैसा बाँडेको भनेर सूचना आएपछि प्रहरीको टोली होटलमा पुगेको थियो। तर, त्यहाँ एउटा समूहले मुस्लिम आयोगका अध्यक्षज्यूमाथि आक्रमण गर्ने शैलीमा नाराबाजी गरेपछि सुरक्षाकर्मीको टोलीले सुरक्षित रुपमा उहाँलाई विमानस्थल पुर्‍याएको छ,' प्रजिअ पौडेलले नेपाल लाइभसँग भने।  

पैसा बाँडेको भनेर मौखिक (फोनमार्फत्) उजुरी आएपनि अनुसन्धानका क्रममा त्यस्तो कुनै प्रमाण नभेटिएको प्रजिअ पौडेलको भनाइ छयद्यपि, होटल सीता शरणमा पुगेको प्रहरी टोलीका एक सदस्यले भने सुरुमा मुस्लिम आयोगका अध्यक्षलाई नियन्त्रणमा लिइए पनि पछि विमानस्थल पुर्‍याएर छोडिएको जानकारी दिए। 

'पैसा बाँड्न खोजेको भन्ने उजुरी परेपछि सुरुमा अनुसन्धान गर्न भन्दै उहाँ (अन्सारी)लाई पनि नियन्त्रणमा लिइएको हो। तर, पछि विमानस्थल पुर्‍याइएको हो,' जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीका एक  प्रहरी कर्मचारीले भने। 

प्रतिक्रिया दिनुहोस