कालिकामा गठबन्धनका उम्मेदवार भन्छन् : स्थानीय स्तरमा आय आर्जन बढाउने कार्यक्रम ल्याउछौं

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १५ : ०९
कालिकामा गठबन्धनका उम्मेदवार भन्छन् : स्थानीय स्तरमा आय आर्जन बढाउने कार्यक्रम ल्याउछौं

कालिका । कालिका नगरपालिकामा सत्ता गठबन्धनले चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धनले चुनावी कार्यक्रमलाई तीव्र बनाएको हो ।

चुनावी कार्यक्रम अन्तर्गत आज (सोमबार) बिहान कालिका २ मा मोटरसाइकल र्‍याली निकालिएको थियो । कालिका २ स्थित गठबन्धनको सम्पर्क कार्यालयबाट सुरु भएको र्‍याली लाहुरेचोक हुँदै लामा चोकमा गएर कोण सभामा परिणत भएको थियो । र्‍यालीमा हजारौंको संख्यामा गठबन्धनका कार्यकर्ताहरु सहभागी थिए ।

कोणसभालाई गठबन्धनबाट कालिकाको मेयरका उम्मेदवार शिवराम केसी, उपमेयरका उम्मेदवार सबिता लामा, वडा २ का वडाध्यक्षका उम्मेदवार जनार्दनप्रसाद दाहाललगायतले सम्बोधन गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार केसीले स्थानीय स्तरमा आय आर्जन बढाउनका लागि बिभिन्न किसिमका सिपमुलक कार्यक्रम सञ्चालन गर्ने प्रविद्धता जनाए । उनले नगरपालिका भित्र रहेका भूमिहिन सुकुम्बासीहरुको लालपूर्जाको समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाए ।

उपमेयरकी उम्मेदवार लामाले कालिकामा स्वास्थ्य शिक्षाको पहुँच सहज बनाउने बताईन् । उनले आफू जनयूद्धमा यहि क्षेत्रमा लड्दा यहाँका जनताले आफ्नो गाँस काटेर खुवाएको गुन तिर्ने बताईन् । नगर भित्रका जनतालाई आत्मनिर्भर बनाउन बिभिन्न किसिमका कार्यक्रम ल्याउने उनको भनाइ थियो ।

वडाध्यक्षका उम्मेदवार दाहालले कृषिलाई पहिलो प्राथमिकतामा राखी आयआर्जन बढाउने प्रतिवद्धता जनाए । उनले कृषिमा आधुनिकीकरण गर्दै धेरै भन्दा धेरै व्यवसायिक कृषक बनाउने प्रतिवद्धता जनाए ।

वार्षिक पाँच हजार लिटर दुध उत्पादन गर्ने र ३० वटा भन्दा बढी बाख्रा पालन गर्ने कृषकलाई वार्षिक अनुदान उपलब्ध गराउने उनले बताए । वडाका स्वास्थ्य चौकीलाई थप व्यवस्थित बनाउने तथा सामुदायिक विद्यालयहरुको स्तरोन्नती गर्ने पनि  उनले बताए ।

कालिका २ मा गठबन्धनको तर्फबाट कांग्रेसका दाहाल वडाध्यक्षको उम्मेदवार हुन् भने नेकपा माओवादी केन्द्रकी देउमाया विक (सम्झना) महिला दलित सदस्य, माओवादी केन्द्रकै लक्ष्मी मैनाली (चालिसे) महिला सदस्य, कांग्रेसका दीपक बास्तोला र माओवादी केन्द्रका नवराज दुवाडी खुला सदस्यका उम्मेदवार हुन् ।
 

प्रतिक्रिया दिनुहोस