काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि देशभर मतपत्र ढुवानी सकेको छ । आयोगले निर्वाचनको तयारीलाई तीव्र पार्दै मतपत्र ढुवानीलगायतका महत्वपूर्ण कार्य सम्पन्न गरेको हो ।
स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छपाएको आयोगले ७७ वटै जिल्लामा मतपत्रको ढुवानी सकिएको बताएको हो । सो निर्वाचनमा देशभर ७८ हजार मतपेटिका प्रयोग हुँदै छ भने निर्वाचनमा देशभर गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार छन् ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७७ वटै जिल्लामा आयोगको केन्द्रीय कार्यालयबाट मतपत्र पठाइएको र धेरैजसो जिल्लाका मतदान अधिकृतले मतपत्रसमेत बुझिसकेको जानकारी दिए ।
‘७७ वटै जिल्लामा मतपत्र पठाउने काम सम्पन्न भइसकेको छ, केही जिल्लाका स्थानीय तहमा मतपत्र ढुवानी गरेर पु¥याउन समय लाग्ने भएकाले मतदान अधिकृतलाई मतपत्र बुझाइसकिएको छ भने सहज ढुवानी गर्न सकिने स्थानीय तहमा २७ गते बेलुकासम्म मतपत्र पु¥याउनेगरी तयारी गरिएको छ,’ प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।
देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि नयाँ नेतृत्व चुन्नेगरी हुन लागेको निर्वाचनमा आयोगले देशभर ७८ हजार मतपेटिकालाई तयारी अवस्थामा राखेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि देशभर ७८ हजार मतपेटिका प्रयोग गर्नेगरी आयोगले तयारी अवस्थामा राखेको जानकारी दिए । आयोगका प्रवक्ता पौडेलका अनुसार निर्वाचनमा आयोग, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल र मतदान केन्द्रमा गरी २ लाख बढी कर्मचारी निर्वाचनमा खटाइएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ बैशाख २०७९, ०८ : १२
लेखकबाट थप