काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन। यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भिडन्त हुँदैछ।
वडा नं ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, ३९ वर्षीय हरिबहादुर राई। उनका प्रतिस्पर्धी छन्, गठबन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३६ वर्षीय कृष्णकुमार राई (भुपाल) । गठबन्धनका उम्मेदवार कृष्ण एमालेका उम्मेदवार हरिका आफ्नै कान्छी बहिनी लक्ष्मीका श्रीमान् अर्थात कान्छा ज्वाँई हुन्।
निर्वाचनको बेला अलग अलग पार्टीका नेता, कार्यकर्ताहरुबीच आरोप प्रत्यारोप, घोचपेच र बोलचाल नै पनि बन्द हुने गर्छ। कतिपय ठाउँमा झगडा नै पनि पर्छ। यहाँ त झन् प्रमुख प्रतिस्पर्धी दलबाटै ज्वाँई र जेठान चुनावी मैदानमा छन्। तरपनि उनीहरुबीच सम्बन्धमा कुनै कटुता आएको छैन। दुवै जनाको कुरामा समानता छ, ‘हामी व्यक्तिगत लडाईमा छैनौ, समाज बनाउने र वडाको समग्र विकास गर्ने प्रतिस्पर्धामा छौ। त्यसैले व्यक्तिगत गालीगलौचमा उत्रदैनौं।’
अर्को रोचकता के पनि छ भने यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनीहरु वडा सदस्य पदमा एमाले र कांग्रेसबाट उठेका थिए। त्यसबेला एमालेको प्यानलै विजयी भएको थियो। उक्त जित हारले पनि दुवैको पारिवारिक सम्बन्धमा दरार आएन। जेठान हरि भन्छन्,‘राजनीति समाजलाई राम्रो बनाउन, विकास गर्नको लागि गर्ने हो। मैले ५ वर्षमा के गरे, त्यो मतदातालाई भन्ने हो। गालीगलौज गर्नुपर्दैन, र त्यो खालको राजनीति गर्नुपनि हुन्न। त्यसैले हामीमा कुनै समस्या छैन।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ बैशाख २०७९, ०८ : ०८
लेखकबाट थप