काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानवअधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएका छन्।
आयोगको कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाटका क्रममा आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई मानवअधिकार उल्लंघनकर्ताको आरोप रहेको बताए।उनले मानवअधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ता दुरुपयोग गरेको बताए।
महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि उनले उल्लेख गरे।उनले भने, ‘अहिले आइजिपीको नियुक्ति जुन सरकारले गरेको छ, त्यो नियुक्ति भनेको राज्यशक्ति, अहिले राज्यको तहमा बस्ने प्रधानमन्त्री, गृहमन्त्री वा सरकारले आइजिपीमाथि जुन आरोप लागेको छ। मानवअधिकार उल्लंघनकर्ताको रूपमा उनीमाथि आरोप लागेको छ। कुनै बेला कुवेरसिंह राणामाथि आरोप लागेको थियो ०६५ सालमा। र, त्यसबेला आयोगका तत्कालीन अध्यक्ष केदारनाथ उपाध्यायको नेतृत्वको आयोगले सरकारलाई सतर्क गराएको थियो। सिफारिस पनि गरेको थियो। अहिले हामी अनुसन्धान गर्दै छौँ। फाइल हेरिरहेका छौँ। र, यहाँहरूलाई पनि आग्रह के गर्न चाहन्छु भने यो पनि एक किसिमको राज्यसत्ता दुरुपयोग भयो। यो बेलामा टप लेभलका सुरक्षा निकायका प्रमुख बनाउँदाखेरी केही न केही गम्भीर मानव अधिकारको प्रश्न पनि हो। यहाँहरू सबैले त्यसमा अरू थप अनुसन्धान गर्न म आह्वान पनि गर्दछु।’
उनले महानिरीक्षक सिंहको सम्बन्धमा थप अनुसन्धान गर्न पनि सरोकारवाला सबैलाई आह्वान गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ बैशाख २०७९, १६ : ०१
लेखकबाट थप