‘मिटु’ को आरोपमा किन जंगिए काठमाडौं मेयरका प्रत्याशी केशव स्थापित ?

पत्रपत्रिकाबाट

शुक्रबार, १६ बैशाख २०७९, ०७ : ५७
‘मिटु’ को आरोपमा किन जंगिए काठमाडौं मेयरका प्रत्याशी केशव स्थापित ?

काठमाडौं । काठमाडौं महानगरपालिका हाँक्न उम्मेदवारी दिएका केशव स्थापित आफूमाथि लागेको ‘मिटु’ आरोपको प्रतिवाद गर्न नसकेर अभद्र रूपमा प्रस्तुत भएका छन्। नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितलाई काठमाडौंको धुम्बाराहीस्थित नेसनल कलेजमा बिहीबार आयोजित एक कार्यक्रममा सहभागीले मिटुबारे प्रश्न सोधेपछि उनी जंगिए।

कार्यक्रम प्रस्तोता भावना राउतले मिटु आरोपबारे प्रश्न सोध्दा स्थापित अभद्र किसिमले प्रस्तुत भए। ‘तपाईंको फेस नाइस छ, थुतुनो भएन,’ प्रश्न सुनेपछि जंगिँदै स्थापितले प्रतिक्रिया दिए। उनको यो अभिव्यक्तिलाई लिएर आम नागरिकले सामाजिक सञ्जालमा आपत्ति जनाइरहेका छन्।

कार्यक्रम प्रस्तोताले निर्दोष छु भनेर कि प्रमाणित गर्नुस् अथवा प्रमाणित गर्न सक्नुहुन्न भने तपाईं यो ठाउँमा बस्ने नैतिकता राख्नुहुन्छ र,’ भन्ने प्रश्नको उत्तरमा स्थापित निकै आक्रोशित बनेका थिए। यसअघि काठमाडौं महानगरपालिकाको मेयर छँदा स्थापितलाई त्यहीं काम गर्ने एक महिला कर्मचारी र एक महिला पत्रकारले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए।

तर, यसबारे कुनै पनि न्यायालयमा मुद्दा परेको थिएन। त्यस बेला स्थापितले आरोप प्रमाणित गर्न चुनौती दिएका थिए। त्यसपछि लामो समयसम्म यो विषय सेलाएको थियो। उनी प्रदेश सांसद हुँदा यो विषय पुनः चर्चामा आएको थियो, त्यसपछि फेरि सेलायो। बाग्मती प्रदेशमा भौतिक पूर्वाधार मन्त्री हुँदा पनि उनी विवादमा परेका थिए।

मुख्यमन्त्री डोरमणि पौडेलसँग झगडा परेपछि उनलाई जिम्मेवारीबाट मुक्त गरिएको थियो। अहिले आएर एमालेले मेयरको उम्मेदवार बनाएपछि स्थापितलाई मिटुबारे प्रश्न सोधिएको थियो। त्यस बेला उनी विवादमा नआउने पनि केशव स्थापित हुन्छ भन्दै हलुका जवाफ दिएर तर्केका थिए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस