अफगानिस्तानमा ११ जना तालिबान मारिए

शुक्रबार, ०४ जेठ २०७५, १७ : ३६
अफगानिस्तानमा ११ जना तालिबान मारिए

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा सुरक्षाबल र तालिवान आतंककारीबीच भएको झडपमा परी ११ जना आतंककारी मारिएको समाचार छ । अफगानिस्तानको गृहमन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । यस झडपमा परी अरु १४ जना आतंककारी घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ । मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुमाथि आतंककारीले बम हानेका थिए । बिहीबार राति सो बम प्रहारपछिको कारबाहीका क्रममा तालिबान लडाकू मारिएका हुन् ।

अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरको अन्त्यमा नेटो सेनाका प्रायः सेना अफगान युद्ध सकिएको घोषणा गर्दै त्यहाँबाट फर्किएकापछि अफगान सुरक्षाबल माथिको आक्रमण बढ्नुको साथै हताहत पनि बढेको पाइन्छ । उता अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले गत शुक्रबार पनि हवाई आक्रमणमा जारी राखेको जनाएको छ । त्यस आक्रमणमा परी केही लडाकू मारिएको अनुमान गरिएको छ ।

केही दिनयता अफगानिस्तानमा हिंसा बढेको छ । तालिवानहरुले आत्मघाती हमलाका घटनामा वृद्धि गरेका छन् भने सेनाले पनि कारबाहीलाई जारी राखेको छ । तालिवान लडाकूले मङ्गलबार साँझपख अफगान सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण सुरु गरेपछि अफगान राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध कारबाही शुरु गरेको थियो । हालैमात्र काबुलमा भएको आक्रमणमा परी नौ जना पत्रकार मारिएका थिए । उक्त घटनाको विश्वव्यपीरुपमा निन्दा गरिएको थियो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस