उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको वार्ता रद्द, अमेरिकालाई चेतावनी

बुधबार, ०२ जेठ २०७५, १० : १२
उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको वार्ता रद्द, अमेरिकालाई चेतावनी

उत्तर कोरियाले एकपटक पुनः अचम्मित पार्दै दक्षिण कोरियासँगको उच्च स्तरीय वार्ता रद्द गरेको छ । सरकारी मिडियाका अनुसार उत्तर कोरियाले आफ्नो छिमेकी देश र अमेरिकाको तर्फबाट जारी संयुक्त सैन्य अभ्यासका कारण रुष्ट भएर उक्त निर्णय लिएको  बताएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले अमेरिका र दक्षिण कोरियाको साझा अभ्यास ‘उत्तेजक’ भएको बताएको छ । उत्तर कोरियाले अमेरिकालाई पनि उत्तर कोरियाली नेता किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीचको जून १२ मा हुने भनिएको बहुप्रतिक्षित भेटवार्ताको भविष्यबारे चेतावनी दिएको छ ।

रद्द गरिएको भेटघाट पनमुनजोममा बुधबार हुने भनिएको थियो जसबारे यसै हप्ता सहमती भएको थियो । उक्त भेटघाटमा अप्रिल २७ मा दुबै देशका प्रमुखबीच भएको कुराकानीमा बनेको सहमतीलाई कसरी अगाडि बढाउने भन्नेबारे कुराकानी हुने बताइएको थियो । पनमुनजोम कोरियाली प्रायद्वीपको एउटा मात्र यस्तो स्थान हो जहाँ उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकी सैनिक एक अर्कासँग हर दिन हर रात भेटिन्छन् । सन् १९५३ पछि यहाँ युद्धविराम लागू छ ।

उत्तर कोरियाली नेता किम जोंग–उन र दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले द्वीपक्षीय भेटघाटपछि कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त क्षेत्र बनाउनेबारे सहमती गरेका थिए । दुबैले सन् १९५३ को युद्धविरामलाई औपचारिक रुपमा यस वर्ष शान्ती सन्धीमा परिवर्तन गर्ने इच्छा व्यक्त गरेका थिए । -बीबीसी

प्रतिक्रिया दिनुहोस