काठमाडौं । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै मन्त्रालयका कर्मचारीलाई हातपात गरेका छन्। उनले गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत अधिकृत (आठौं तहका कर्मचारी) प्रकाश ओझालाई कुटपिट गरेका हुन्। मंगलबार योजना कार्यान्वयनका विषयमा छलफल भइरहँदा मन्त्री र कर्मचारीबीच विवाद भएपछि मन्त्री मनाङेले कुटपिट गरेको स्रोतको भनाइ छ।
कुटपिट भएलगत्तै ओझाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीलाई जानकारी गराएको बताइएको छ। कुटपिटबाट त्रसित उनी स्थानीय मेट्रोसिटी अस्पताल भर्ना भएका थिए। अस्पताल स्रोतले उनी डिस्चार्ज भइसकेको बताएको छ। उनी आफू भने मोबाइल स्विच अफ गरेर बसेका छन्।
घटनाबारे कास्की प्रहरी मौन छ। कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले घटना भएको समाचारबाट थाहा भए पनि उजुरी नपरेको बताए। ‘हामीले पनि समाचार हेरेर थाहा पाएका हौं। अहिलेसम्म कसैले उजुरी गरेको छैन। घटनाबारे थप जानकारी भएन’, उनले भने।
मन्त्री मनाङेले भने आफूले कर्मचारीलाई सम्झाएको बताएका छन्। योजना कार्यान्वयन छिटो गर्न निर्देशन दिँदा पनि ढिलासुस्ती भएपछि आफूले सामान्य रुपमा सम्झाएको उनको भनाइ छ। मन्त्रीका निजी सचिव राजेन्द्र आचार्यले पनि कर्मचारीमाथि कुटपिट भएको कुरा सत्य नभएको बताए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २४ चैत्र २०७८, ०७ : ३७
लेखकबाट थप