२४ घंटामै माओवादीमै फर्किएका डल्लाकोटीले प्रचण्डलाई भने : 'केही मान्छेहरुको परिबन्दमा परेर बालकोट पुगे'

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, ११ : ००
२४ घंटामै माओवादीमै फर्किएका डल्लाकोटीले प्रचण्डलाई भने : 'केही मान्छेहरुको परिबन्दमा परेर बालकोट पुगे'

काठमाडौं । एमाले प्रवेश गरेको २४ घण्टा बित्न नपाउँदै पुनः माओवादी केन्द्रमै फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष  पित्त बहादुर डल्लाकोटी (हरि)ले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । 

प्रचण्ड निवास खुमलटारमा पुगेर डल्लाकोटीले प्रचण्डलाई भेटेका हुन् । बुधबार भएको भेटका क्रममा डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर आफू बालकोट पुगेको बताएका छन् । 

‘अध्यक्षज्यू, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्’, डल्लाकोटीको भनाइ उदृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘मैले आज मेरा कार्यकर्ता र जनताप्रति  गर्व गर्छु । र, म २ दिनमै घर फर्केको छु ।’

डल्लाकोटीको भनाइ सुनेपछि प्रचण्डले अब काममा फर्किन निर्देशन दिएका थिए । ‘अध्यक्ष कमरेड प्रचण्डले गल्ती गरेँ भनिसक्नु भो। अब काममा फर्कनुस् भन्नुभयो’, मल्लले भेटपछि भने । सोमबार माओवादीबाट निर्वाचित डल्लाकोटी धादिङ एमालेका नेताहरुको साथ लागेर पार्टी प्रवेशका लागि बालकोट पुगेका थिए ।