महिला टी-२०आई शृंखला

महिला टी-२०आई शृंखलामा नेपालको लगातार तेस्रो हार

सफल खबर संवाददाता

आइतबार, २० माघ २०८१, १५ : ५०
महिला टी-२०आई शृंखलामा नेपालको लगातार तेस्रो हार

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो ।

नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । सम्झना खड्काले २३ रन बनाइन् ।

नेदरल्याण्ड्सका आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले २-२ विकेट लिए । इभा लिन्च र इसाबेल वोनिङले १-१ विकेट लिए ।त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन्। त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।नेपालका लागि सीता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । उनले करियरको दोस्रो पाँच-विकेट फिगरको बलिङ गरेकी हुन् । यो उनको बेस्ट बलिङ समेत हो । मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १-१ विकेट लिए ।

 

 

प्रतिक्रिया दिनुहोस