उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

सोमबार, ३१ बैशाख २०७५, १५ : १८
उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

बेइजिङ । उत्तर कोरियाका उच्चस्तरीय अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन पुगेको समाचार छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सो प्रतिनिधिमण्डलमा सहभागी भएको समाचार जापानको सरकारी प्रशारण संस्था एनएचके टेलिभिजनले दिएको छ ।

उक्त प्रशारण संस्थाकाअनुसार उक्त प्रतिनिधिमण्डल बेइजिङ्को एक अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा पुगेको थियो । सो दृश्य उक्त टेलिभिजनले देखाएको बताइएको छ । तर पनि सो भ्रमणमा सहभागी अधिकारीको नाम भने उसले दिएको छैन । उक्त भ्रमण दलमा उत्तर कोरियाका केही उच्चस्तरीय अधिकारी भएको अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतिक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२ मा सिंगापुरमा हुन लागेको छ । सोही भ्रमणको पूर्व सन्ध्यायमा भएको उत्तर कोरियाली नेताको यो चीन भ्रमणलाई एक अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ । यसका साथै उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन पुग्नुभएको थियो ।

उहाँले गएको दुई महिनायता यो दोस्रो पटकसम्म चीनको भ्रमण गर्नुभएको थियो । दुई महिना यताको यो पनि एक उच्चस्तरीय भ्रमण नै रहेको अधिकारीहरुले जनाएका छन् । उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारेको अन्योल हटाउने विषयमा सिंगापुरमा जुन १२ मा वार्ता हुन लागेको हो ।

राष्ट्रपति ट्रम्पले विश्वकै चासो र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा वार्ता हुने र यो वार्ता कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कदम हुने ट्वीटरमार्फत जनाउनुभएको छ । यसअघि नै यसै वार्ताको बिषयलाई लिएर राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग पनि फोनवार्ता गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबीच गर्ने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको अमेरिकाले जनाएको छ । यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई गत बुधबार नै रिहा गरिसकेका छन् ।

उक्त सिंगापुर वार्ताको तयारीको लागि अमेरिकी विदेशमन्त्रीले पनि हालै उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । सो भ्रमणपछि नै उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई रिहा गरेको थियो । उत्तर कोरियाको भ्रमणलगत्तै अमेरिकी विदेशमन्त्रीले आसन्न वार्ताको वातावरण निर्माण भएको र परिस्थिति सबै सकारात्मक रुपमा नै अघि बढेको प्रतिक्रिया दिनुभएको थियो ।

सो वार्ताको सफलताको लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही दिनयता विभिन्न एसियाली देशका नेताहरुसँग फोनवार्ता जारी राख्नुभएको छ । उहाँले उत्तर कोरियासँग वार्तामा बस्न आफू प्रतिक्षारत रहेको पनि बताउनुभएको छ । यी वातावरणका कारण उत्तर र दक्षिण कोरियाली नागरिकमा पनि शान्तिको आशा पलाएको बताइएको छ । विश्वका सञ्चारमाध्यमहरुले कोरियाली प्रायद्वीपमा अब शान्ति स्थापना हुने बताएका छन् । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस