काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)को रिटमा आइतबार सुनुवाइ हुँदैछ ।
सुनुवाइका लागि रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ । डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
लोकसेवा आयोगबाट वरिष्ठता प्रमाणित हुने लिखित विवरणपछि उनीहरू रिट लिएर सर्वोच्च पुगेका हुन् । रिटमा उनीहरूले कनिष्ठलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको भन्दै सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् ।
उनीहरूले सर्वोच्च जानुअघि बढुवाविरुद्धको सुनुवाइ समितिमा उजुरी दिएका थिए । समितिले कैफियत नदेखिएको ठहर गरेपछि बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस भएका डीआईजीहरूको बढुवा गरेको थियो ।
बढुवा भएकाहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्न्द्रबहादुर धानुक हुन् । उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको हो ।
वरीयतामा भने पन्त तेस्रो, सिंह छैटौँ र धानुक आठौँमा थिए । पाण्डे नेतृत्वको समितिले वरीयता मिचेर कनिष्ट डीआईजीहरूलाई एआईजी बनाएपछि उनीहरू बढुवा समिति हुँदै सर्वोच्च पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० चैत्र २०७८, ११ : ३७
लेखकबाट थप