टेबलटेनिसमा राजन च्याम्पियन

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, ०९ : ४०
टेबलटेनिसमा राजन च्याम्पियन

काठमाडाैं । नेपालको एनिज पिङपोङ क्लबका राजन सुब्बा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान पुरुष ५५ वर्षमाथि सिंगल्समा  च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजनले भारतको इन्डियन मास्टर्सका कपिल कुमारलाई ३-१ ले पराजित गरे ।राजनले पहिलो सेट ११-१३ ले गुमाए पनि त्यसपछिका ३ सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बने । राजनले दाेस्राे सेटमा १२-१०, तेस्राेमा ११-७ र चौथोमा ११-४ को प्रदर्शन गरे ।

आयोजक ललितपुर टेबलटेनिस क्लबका प्रकाश धाख्वा र एनिजका कपुर शर्मा तेस्राे भएका छन् ।सम्झना ल्याबको प्रमुख प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्टमा इन्डियन मास्टर्सले भारतको अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३-१, भारतको जेकेजीले नेपाल प्रहरी क्लबलाई ३-१, नेपाल आर्मीले भारतको बैंक अफ बरोडालाई ३-० तथा नेपाल एपीएफ क्लबले एजीए ‘बी’ लाई ३-२ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष सिंगल्सको समूह चरणको खेल जारी छ भने महिला सिंगल्सको लिग चरणका खेल पनि सुरु भएका छन् । महिला सिंगल्समा ३८ खेलाडी सहभागी छन् । लिगबाट ८ खेलाडी नकआउट चारणमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस