कतार । कतार भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा.अल वीन समिख अल मारीसँग भेटवार्ता गरेका छन । कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको छ । मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नविकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएका थिए ।
सो क्रममा कार्यदलस्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको छ । मन्त्री श्रेष्ठले समकक्षी मारीलाई हस्ताक्षर समारोहमा उपस्थितिका लागि नेपाल आउन निमन्त्रणा गर्नुभयो । गत मंसिरमा काठमाडौंमा भएको नेपाल(कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यन्वयनबारे पनि सो अवसरमा छलफल भयो । नेपाल(कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो । कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनस्एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ ।
नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो । भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागिता लगायतका बिषयमा पनि छलफल भएको छ । मन्त्री मारीले कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए ।
भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालका साथै नेपाली दुतावासका अधिकारीहरु उपस्थित थिए भने कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्ली समेत थिए । नेपाल र कतारबीच दौत्यसम्बन्ध स्थापना भएको करिब तीन दशक भइसकेको छ । श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारले सन् २००५ मा श्रम सम्झौता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
भारत र मलेसियाका लागि राजदूत नियुक्त
ब्रायन लारा नेपाल आउदै
नेपाल–भारतबिच अन्तर्देशीय पर्यटन प्रवर्द्धन
भुटानका राजा आज नेपाल आउँदै
नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर