बढ्यो अनलाइन ठगी, जोगिन के गर्ने ?

पत्रपत्रिकाबाट

बुधबार, ०२ चैत्र २०७८, ०८ : १०
बढ्यो अनलाइन ठगी, जोगिन के गर्ने ?

काठमाडौं । प्रविधिको विकास र बढ्दो सुविधासँगै अनलाइन माध्यमबाट हुने ठगीका घटना बढ्न थालेको छ । नेपाल प्रहरीमा पछिल्लो समय अनलाइन माध्यममार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ्दै गएको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार चालू आर्थिक वर्ष २०७८-७९ को फागुनसम्म महाशाखामा अनलाइन माध्यममार्फत ठगिएको भन्दै ३ सय १५ जनाको उजुरी परेको छ ।

महाशाखाका अनुसार पीडितले सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै ठगिएको, सामान पार्सलमा ठगीमा परेको, मोबाइल खरिद बिक्रीमा ठगिएको, फेसबुक आइडी ह्याक गरी ठगीमा परेको, ई–सेवारओटीपी कोडबाट ठगीमा परेको तथा अन्य माध्यममार्फत ठगीमा परेको भन्दै महाशाखामा उजुरी गरेका हुन् ।

गत आर्थिक वर्ष २०७७र७८ मा भने एक वर्षको अवधिमा अनलाइन माध्यममार्फत ठगिएको भन्दै महाशाखामा २ सय ४४ जनाले उजुरी गरेका थिए । चालू आर्थिक वर्षको आठ महिनामा नै सो संख्या नाघिसकेको छ । महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले अनलाइन माध्यमको बढ्दो प्रयोगसँगै सुरक्षा सतर्कतामा ध्यान कम हुँदा ठगीका घटना बढ्दै गएको बताए ।

‘अनलाइन माध्यमबाट हुने सेवासुविधाको उपयोग बढी भयो, सतर्कता कम भयो, सामाजिक सञ्जालको प्रयोगमार्फत पनि ठगीका घटना बढेको देखिएको छ,’ अपराध महाशखाका प्रमुख एसएसपी कुँवरले राजधानीसँग भने ।

चालू आर्थिक वर्षको यो अवधिमा महाशखामा चिठ्ठा परेको भनी ठगिएका ६१ जना पीडितले उजुरी गरेका छन् । यसैगरी, सामान पार्सलमा ठगीमा परेको भन्दै ३८ जना र मोबाइल खरिद बिक्रीमा ठगिएको भन्दै २५ जनाले महाशाखामा उजुरी दिएका छन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस