पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, १६ : ३०
पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र

 काठमाडौं । ठेकेदार कम्पनीले बीचैमा काम छोडेपछि उत्तरी म्याग्दीको गलेश्वर राहुघाटदेखि पिप्ले–भगवती जोड्ने सडकको कालोपत्रे गर्ने योजना अलपत्र परेको छ।रघुगंगा गाउँपालिकाको महत्वपूर्ण सडक मानिने उक्त सडक खण्ड गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको हो।

उक्त सडकको कालोपत्रे योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले बीचैमा काम छाडेपछि सडक कालोपत्रेको काम अलपत्र परेको स्थानीयवासीको भनाइरहेको छ  । निर्माण कम्पनीका साझेदारहरूबीच आर्थिक लेनदेनको विषयमा विवाद भएपछि १० दिनदेखि  कार्यक्षेत्रमा सम्पूर्ण काम ठप्प भएको स्थानीयले बताएका छन्।योजनालाई अधकल्चो बनाएर छाडेपछि प्रभावित क्षेत्रका स्थानीयमा चिन्ता बढेको छ। निर्माण कम्पनीलाई तत्काल कार्यक्षेत्रमा फर्काउने वातावरण बनाउन भूमिका खेल्न प्रशासन र योजना कार्यान्वयन गर्ने कार्यालयलाई आग्रह गरिएको स्थानीयबासीसमेत रहेका नेकपा माओवादीका हरि भण्डारीले बताए।

गलेश्वरदेखि बगैँचासम्मको पहिलेको ट्याकमा पहिरोले क्षति पुर्‍याएकाले पहिलो चरणमा पिप्लेदेखि भगवतीसम्मको ५ किलोमिटर सडकलाई कालोपत्रे गर्ने भनिए पनि निर्माण कम्पनीले कार्यक्षेत्र नै छाडेपछि यस क्षेत्रका स्थानीय रुष्ट बनेका छन्।म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले सम्बन्धित कार्यालय र निर्माण कम्पनीसँग आवश्यक सोधपुछ गरी अलपत्र योजनालाई गति दिनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

उनले कुनै पनि कम्पनीलाई योजनालाई बिचैमा अलपत्र छाडेर हिँड्ने छुट नहुनेसमेत बताए। योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले गत जेठमै योजनालाई सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म आधाको हाराहारमिा मात्रै भौतिक प्रगति गरेको छ। अन्तीम पटकका लागि थप भएको समयसिमा समेत सकिन एक महिना मात्रै बाँकी छ।

प्रतिक्रिया दिनुहोस