रिल्मवासीले उधारोमै सडक निर्माण गरेर गाडी पुर्‍याए

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, १५ : ५८
रिल्मवासीले उधारोमै सडक निर्माण गरेर गाडी पुर्‍याए

जिल्लाकै दूरदराजमा पर्ने अदानचुली गाउँपालिका–४ को रिल्म गाउँका स्थानीयले उधारोमा सडक निर्माण गरेर गाडी गाउँ पुर्‍याएका छन्।केही बजेटको व्यवस्था भएको र केही आउने आश्वासन पाएपछि उधारोमा सडक निर्माण गरेर स्थानीयले गाडी रिल्म गाउँमा पुर्‍याएका हुन्।

स्थानीय नन्दराज शर्माका अनुसार दुई वर्ष लगातार स्थानीय उपभोक्ताले सडक निर्माण गरेर दुर्गमको रिल्म गाउँमा गाडी पुगेको छ। स्थानीयले यसरी गाडी चाँडै गाउँमा आउला भन्ने कल्पनासमेत नगरेको अवस्थामा गाडी पुगेको जानकारी दिँदै स्थानीयले पहिलो पटक गाउँमा गाडी पुग्दा खुसियाली मनाएको बताए।गाडी पुगेसँगै रिल्मा गाउँपालिका केन्द्र श्रीनगर कर्णाली करिडोरसँग जोडिएको छ। सडक स्थानीय उपभोक्ताबाट उधारोमा निर्माण भएको हो।स्थानीय इच्छा र चाहना भए पनि विकास गर्न सकिने बताउँदै उनले बजेट आउने आशाका भरमा सडक निर्माण गरेर गाउँमा गाडी पुर्‍याएको जानकारी दिए।

गाउँका ज्येष्ठ नागरिकलाई यति चाँडै गाउँमा जिप नै पुग्ला भन्ने विश्वास थिएन। उनीहरू आँगनमा बोलेरो जिप पुग्दा आश्चर्यचकित भएका थिए।वडाध्यक्ष विष्णु थापाले गत आर्थिक वर्षबाट मुख्यमन्त्री रोजगार कार्यक्रमबाट निर्माण सुरु भएको सडक यस वर्ष रिल्म गाउँसम्म जोड्न सफल भएको बताए।यसबाट रिल्म गाउँवासीका लागि यात्रा गर्न, बिरामीलाई उपचार गर्न र खाद्यान्न तथा विकास निर्माण सामग्री ढुवानीमा सहजता भएको छ।

गाउँमा गाडी पुगेपछि स्थानीय बासिन्दाले वडाध्यक्ष, गाडी चालक र यात्रुलाई फूलमाला र अबिर जात्रा गरेका थिए। यसका लागि अघिल्लो आर्थिक वर्षमा १८ लाख ३५ हजार र चालु वर्षमा १८ लाख ३५ हजार बजेट खर्च भइसकेको र हालसम्म काम गरेको स्थानीय उपभोक्ताले पाउन अझै १५ लाख बाँकी छ।
उधारोमा भए पनि सडक निर्माण गरेर गाउँमा गाडी पुगेको भन्दै उनले तर त्यो बजेट आउने आश्वासन पाएको बताए।

यसका लागि सात लाख बजेट वडाका लागि आइसकेको छ। सडक सञ्जाल जोडिनुको महत्व स्थानीयले बुझेपछि यसरी उधारोमा काम गर्न स्थानीय राजी भएको बताउँदै अब अर्को सोही वडाको बिगोठी गाउँमा सडक जोड्न बाँकी छ। 

प्रतिक्रिया दिनुहोस