केन्यामा बाँध फुट्दा ३२ जनाको मृत्यु

विहीबार, २७ बैशाख २०७५, १८ : ३१
केन्यामा बाँध फुट्दा ३२ जनाको मृत्यु

प्रतिकात्मक फोटो

नाकारु, केन्या । केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । बाँध भत्कीएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । क्षेत्रीय अपराध अनुसन्धान कमाण्डर गिडेन किबुन्जाले उनीहरूको मृत्यु भएको, केही व्यक्ति हराइरहेको र मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताउनु भयो ।

बाँध भत्किएपछि बगेको पानीले घरहरु, विद्यालय भवनहरु र व्यापारिक कार्यालयहरू पनि क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् । “घटनामा परी अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको छ, अरु धेरै जना अझै पनि बेपत्ता नै रहेका छन्,” कमाण्डर किबुन्जाले टेलिफोनमा बताउनुभयो ।

प्रभावितहरूलाई स्थानीय बासिन्दा, रेडक्रसका स्वयम्सेवक, प्रदेश प्रकोप व्यवस्थापन कार्यालयको टोलीलगायतले खोजी तथा उद्धारमा सघाएका थिए । उनीहरूले माटो र हिलोमा पुरिएका झण्डै ४० भन्दा बढीलाई उद्धार गरेर अस्पताल लगेको पनि जनाएका छन् ।

हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । प्रदेशका सरकारी अधिकारीहरूले बाँधको पानी घर तथा मानिसहरू भएको ठाँउतिर गएकाले ठुलो क्षति भएको हो । बाढी पहिरोका कारण गत दुई महिनामा देशभर गरेर कुल १३० जनाको मृत्यु भएको छ भने दुई लाख २० हजार भन्दा बढी विस्थापित भएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस