काठमाडौं । वर्तमान गठबन्धन सरकारमा मन्त्रीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘सरकारमा जान धेरै साथीले चाहना राख्नुभयो। हामीलाई थोरै कोटा छ। अहिले केही साथीलाई पठाऔं। ६ महिनापछि पुरानालाई फिर्ता बोलाएर नयाँ टिम पठाऔंला।’
यादवको उक्त प्रस्तावमा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पनि सहमति जनाएका थिए। गत असोज १८ गते बोलाइएको उक्त बैठकमा पार्टी अध्यक्ष यादवले यस्तो प्रतिबद्धता व्यक्त गरेका थिए। उनको प्रतिबद्धतापछि बैठकले पार्टीबाट सरकारमा पठाउने व्यक्तिबारे निर्णय गर्ने जिम्मा भट्टराई, यादव र अशोक राईलाई दिएको थियो। त्यसपछि संसदीय दलको बैठक बोलाइयो।
संसदीय दलको बैठकमा पनि यादवले उही प्रतिबद्धता दोहोर्याए । यादव जसपा संसदीय दलका नेता पनि हुन्। कार्यकारिणी र संसदीय दलको बैठकपछि यादवले सरकारमा चार नेतालाई पठाए। सुरुमा प्रमोद साहको नाम पनि राखिएको थियो। नामावली सूची प्रधानमन्त्रीलाई बुझाउने बेलामा भने साहको ठाउँमा महेन्द्र यादवलाई राखियो।
सरकारमा जान नपाएपछि सांसद साह, प्रदीप यादवलगायत आक्रोशित भए। सांसद यादवले त पर्साबाट आफ्ना कार्यकर्तालाई काठमाडौं बोलाएर केन्द्रीय कार्यालयमा अध्यक्ष यादवविरुद्ध नाराबाजीसमेत गर्न लगाए। त्यसबेला अध्यक्ष यादवको पुतलासमेत जलाइयो। अध्यक्ष यादवले असन्तुष्ट नेताहरूलाई अर्को सिफ्टमा पठाउने आश्वासन दिएर शान्त पारे। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २९ फागुन २०७८, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा
भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व