अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

बुधबार, २६ बैशाख २०७५, १६ : ४३
अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

प्योङयाङ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुग्नुभएको समाचार छ । अमेरिकी विदेशमन्त्रीका रुपमा भएको उत्तर कोरियाको यो एक दुर्लभ भ्रमण हो । उहाँ बुधबार उत्तर कोरिया पुग्नुभएको बताइएको छ । उहाँ उत्तर कोरियाली राजधानी प्योङयाङ अवतरण गर्दा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताइन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको बेला विदेशमन्त्री पेम्पेओ उत्तर कोरिया पुग्नुभएको हो ।

यस भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ । उहाँले यी दुई देशका उच्च नेताबीच हुन लागेको आसन्न वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ । उहाँ अघोषित भ्रमणका लागि त्यहाँ जानुभएको हो । यसबाट अमेरिका र कोरियाबीच हुने भनिएको आसन्न उच्चस्तीय वार्ताको सफलताका लागि सहयोग मिल्ने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।

उन सि दोस्रो पटक भेटवार्ता
उता उत्तर कोरियाली नेता किम जोङ उन चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ताका लागि हालै चीन पुगेको पनि अर्काे एक समाचारमा जनाइएको छ । उक्त कुराको चीनले पुष्टि पनि गरेको छ ।

उत्तर कोरियाली नेता उनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि आगामी केही हप्तामा भेटवार्ता गर्नुहुने भएको छ । उक्त भेटवार्ता तय गरिएकोले सो उच्चस्तरीय बैठक हुनु पूर्व नेता उन र सीबीच सो भेट भएको हुनसक्ने अनुमान गरिएको छ । उहाँ दुई महिना अघि मात्र पनि चीन जानुभएको थियो । यो भेटवार्ता दुई महिनायताको दोस्रो भेट हो ।
उत्तर कोरियाली नेता उन र चिनियाँ राष्ट्रपति सीले चीनको एक उत्तरी सहर डालियानमा भेटवार्ता गरेको पछि आएर खुलेको छ । त्यस भेटवार्ता गएको सोमबार र मङ्गलबार भएको थियो । यसअघिको भेटपछि नै उत्तर कोरियाली नेता उन परमाणु निशस्त्रीकरणका लागि प्रतिबद्ध रहेको आफूले पाएको चीनले बताउदै आएको थियो ।

उता हालैमात्र नेता उनले अमेरिकाको उक्साहटपूर्ण कदमले शान्ति जोखिममा पर्नसक्ने भनी आरोप पनि लगाउनुभएको छ । तर पनि यस भनाइले उत्तर कोरिया र अमेरिकाको उच्चस्तरीय बैठकलाई भने कुनै असर परेको छैन । गत अप्रिल २७ मा भएको ऐतिहासिक वार्तापछि दुई कोरियाबीचको परमाणुसम्बन्धी सकारात्मक प्रगति भएको बताइएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस