पारमाणविक सम्झौताबाट बाहिरिने अमेरिकी घोषणा

बुधबार, २६ बैशाख २०७५, ०८ : १९
पारमाणविक सम्झौताबाट बाहिरिने अमेरिकी घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणिक सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् । बराक ओबामाको कार्यकालमा गरिएको उक्त सम्झौताबाट अलग्गिँदै उनले यसलाई महत्वहीन बताएका छन् । स्थानीय समयानुसार मंगलबार अपरान्ह ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सो सम्झौता अमेरिकाको हितमा नभएकोसमेत बताए । उनले इरानमाथि आतंकवाद निर्यात गरिरहेको आरोप लगाउँदै आफ्नो पारमाणविक कार्यक्रम शान्तिपूर्ण रहेको भन्ने उसको भनाइ झुटो भएको जनाए।

ट्रम्पले सन् २०१५ मा जब इरानसँग भएको सम्झौतापछि आर्थिक प्रतिबन्धमा जुन सहुलियत दिएका थिए, त्यसलाई अब खारेज गर्दै इरानी सरकारविरुद्ध कडा नाकाबन्दी लगाउने एउटा आदेशमा हस्ताक्षर गर्ने बताए । ट्रम्पको यो कदम उनका युरोपेली सहयोगी र अन्य केही सल्लाहकारका सुझावविरुद्ध हो । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले पारमाणविक सम्झौताबाट हट्ने अमेरिकी निर्णयलाई आफूले पूर्ण समर्थन गरेको बताए ।

इरानको विरोधः
इरानका राष्ट्रपति रुहानीले ट्रम्पको उक्त निर्णयलाई कडा शब्दमा विरोध गरेका छन् । अमेरिकाको यो कदमको जवाफमा इरानले आफूले परमाणु ऊर्जा र हतियार दुबैका लागि आवश्यक छ यूरोनियम सम्बर्धनको काम पुनः सुचारु गर्ने तयारी गरिरहेको बताए । रुहानीले भने, ‘अमेरिकाले पुष्टि गरिसकेको छ कि ऊ बचनबद्ध छैन । त्यसकारण मैले आणविक ऊर्जा संगठनलाई यूरेनियमको औद्योगिक स्तरमा सम्बर्धनको काम सुरु गर्न आदेश दिइसकेको छु ।’

आफ्ना सहयोगी र पारमाणविक सम्झौतामा संलग्न अन्य देशसँगको कुराकानीका लागि केही हप्ता प्रतिक्षा गर्नेसमेत उनले बताए । यता अमेरिकाले इरानमाथि पुनः आर्थिक प्रतिबन्ध तत्काल नलगाउने बताएको छ । यसका लागि अमेरिकाले ९० वा १ सय ८० दिन प्रतिक्षा गर्ने बताइएको छ । सन् २०१५ को सम्झौतामा चर्चा गरिएका उद्योगमाथि प्रतिबन्ध लगाइनेछ ट्रम्पले बताएका छन् । यसमा इरानको तेल क्षेत्र, विमान निर्यात, बहुमुल्य धातुको व्यापार र  इरानी सरकारको अमेरिकी डलर खरिद गर्ने कोसिस समावेश छ ।

प्रतिक्रियाः
इरानसँग भएको पारमाणविक सम्झौतामा संलग्न रहेका फ्रान्स, जर्मनी र ब्रिटेनले अमेरिकाको यो निर्णयप्रति खेद प्रकट गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पारमाणविक सम्झौताबाट बाहिरिने अमेरिकाको निर्णयमाथि अफसोस व्यक्त गरेका छन् । उनले भने, ‘इरानसँग म यो विषयसँग जोडिएको व्यापक महत्वपूर्ण विषयमा कुराकानी गर्नेछु जसमा इरानको हतियार कार्यक्रम र मध्यपूर्वमा स्थिरता सम्बन्धी विषय समावेश हुनेछ ।’

युरोपेली संघको विदेश मामलाका प्रमुख फेडरिक मोघेरिनीले संघ परमाणविक सम्झौतालाई सुरक्षित गर्नका लागि प्रतिबद्ध भएको बताए । ट्रम्पको उक्त निर्णय प्रति अमेरिकाका पूर्व विदेशमन्त्री र सम्झौताका लागि भएको कुराकानीमा संलग्न जोन केरीले ट्वीटरमा भनेका छन्, ‘केही वर्ष अघि संसारसामू जुन चुनौती थिए, यो कदमले हामीलाई त्यही स्थानमा पुर्याएको छ ।’

के हो सम्झौता ?
सन् २०१५ को जुलाईमा ओबामा प्रशासनमा भएको उक्त सम्झौताका अनुसार इरानमाथि हतियार खरिद गर्न पाँच वर्षको प्रतिबन्ध लगाएको थियो साथै मिसाइल प्रतिबन्धको समयसीमा आठ वर्ष निर्धारण गरेको थियो ।

त्यसको बदलामा इरानले आफ्नो पारमाणविक कार्यक्रमको ठूलो हिस्सा बन्द गर्यो र बचेको भागको निगारानी अन्तर्राष्ट्रिय निरिक्षकलाई गराउने विषयमा सहमती जनाएको थियो । सम्झौतामा हस्ताक्षर गर्ने ब्रिटेन, फ्रान्स र जर्मनीले राष्ट्रपति ट्रम्पसँग उक्त सम्झौताबाट नहट्न आग्रह गरेको थियो ।

यी देशले राष्ट्रपति ट्रम्पले जे सुकै निर्णय गरेपनि आफूहरु इरानसँग भएको तीन वर्ष पुरानो सम्झौतामा कायम रहने संकेत दिएका थिए ।  इरानका राष्ट्रपति हसन रुहानीले यदि ट्रम्पले पारमाणविक सम्झौतालाई समाप्त गरे अमेरिकाले ऐतिहासिक रुपमा पछुताउनुपर्ने चेतावनी दिइसकेका छन् । -बीबीसी

प्रतिक्रिया दिनुहोस