भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउँछौं : मन्त्री आले

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, १६ : ००
भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउँछौं : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउने बताएका छन् । महाशिवरात्री पर्व २०७८ को तयारीका बिषयमा पशुपति क्षेत्र बिकास कोषले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अदालतले समेत बाटो खोलिदिएकाले अब छिटै धर्मशाला छिटै फिर्ता ल्याउने बताएका हुन् ।

मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको भन्दै अव त्यस्तो काम हुन नदिने स्पष्ट पारे । धर्मशाला भइदिएको भए भारतबाट आएका साधु–सन्त तथा बृद्धबृद्धा बस्न पाउने भएपनि अहिले त्यस्तो हुन नसकेको उनको भनाइ छ ।

उनले यस बर्षको महाशिवरात्रीलाई भव्य र सव्य बनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिए । पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले यस बर्ष महाशिवरात्रीमा करिब १० लाखले पशुपतिनाथको दर्शन गर्ने र करिब सवा करोड खर्च हुने अनुमान गरिएको बताए ।

त्यस्तै सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी तैनाथ हुने उनले जानकारी दिए । महाशिवरात्रीमा गाँजालगायतका लागूपदार्थलाई विशेष कडाइ गरिने र सोही दिन विद्युतीय शव दाह, किरियापुत्री क्षेत्र सञ्चालनमा भने कुनै वाधा नपुग्ने कोषले जनाएको छ ।

महाशिवरात्री पर्वलाई सम्पन्न गर्न २५१ सदस्यीय मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको पनि कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस