पौडेलको टिप्पणी: प्रचण्ड–माधव एमसीसीबारे भ्रमको जालोमा फसे

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, ११ : ५३
पौडेलको टिप्पणी: प्रचण्ड–माधव एमसीसीबारे भ्रमको जालोमा फसे

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालामो फसेको टिप्पणी गरेका छन् । 

बाराको सिमरामा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले एमसीसीको विषयमा देश र जनतालाई धोका दिनेगरी कसैले पनि ‘डबल–स्ट्याण्ड’ को भूमिका खेल्न नहुने टिप्पणी गरे । उनले भने, ‘प्रचण्ड र माधव नेपाल एमसीसीलाई लिएर भ्रमको जालामो जेलिएका छन् । कम्युनिष्टका नेताहरु जेलिएका छन् । उहाँहरु प्रचारको जालोमा जेलिनुभयो। एमसीसीको सुरुवात स्वयम झलनाथजीबाट भएको हो । यो एमसीसी सम्झौता सत्तामा पुगेका कुनैपनि कम्युनिष्ट नेता यो सम्झौताबाट अलग छैनन् । उहाँहरु सबै संलग्न हुनुहुन्छ । सबै नेता पालैपालो संलग्न हुनुहन्छ ।

उनले थपे, ‘केपी ओली प्रधानमन्त्री बनेपछि संसद्बाट पारित गर्नुपर्छ भन्ने बनाउनुभयो । अमेरिकाको यो संसद्बाट पास गर्नुपर्छ भन्ने कुनै दबाब थिएन । यसलाई संसद्मा लैजान्छु भनेर उहाँले त्यसो गर्नुभयो । अहिले एमाले त्यो अनुमोदन गर्नबाट पछि हट्न मिल्छ ? एमसीसी हुन्न भन्ने कुरा यो देश र सारा दुनियाँलाई धोका हो कि होईन ? यसको परीणाम के हुन्छ ? नेपालको राजनीतिक अवस्था र अर्थतन्त्र कहाँ पुग्छ ? आज दातृ निकायहरुलाई हामीविरुद्ध पुर्याउने काम पनि हुन्छ, म समाजवादी हो । म नेपालवादी हो। यस्तो किसिमको फट्याँई मलाई मन पर्दैन् । डबल स्ट्याण्ड कसैले पनि नगरौं।’

उनले अब देशको विकास गर्नेगरि सबै दल जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखे । उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहेका नेता पौडेलले प्रचण्ड र माधव नेपाल एमसीसीबारे भ्रमको जालामो फसेको जिकिर गरे । उनले भने–‘सुरुमा एमसीसी ल्याउनमा प्रचण्ड र माधव नेपाल आँफै लाग्नुभयो । पछि क–कसले कुन–कुन सुत्रबाट यसको विरुद्धमा जानुपर्छ भन्ने कुरा आयो, त्यो कुरा आएपछि उहाँहरुले आफ्नो  तर्कशक्ति एमसीसी खराब हो भन्नेमा खर्च गर्नुभयो । उहाँहरु अहिले माकुरा आफ्नो जालोमा फसेजस्तो फस्नुभयो । उहाँहरु आँफैले फैलाएको झुटो अफवाहको जालामो आँफै अल्झिनुभएको छ। मैले त जानेको कुरा यत्ति हो ।’

उनले आफू त सबैसँग सहकार्य गरेर जाने व्यक्ति भएको पनि उल्लेख गरे । उनले आफ्नै पार्टीभित्र पनि एमसीसीबारे जनतालाई बुझाउनको लागि पर्याप्त भूमिका नखेलिएको गुनासो पोखे ।