काठमाडौँ । पार्टी महाधिवेशन सम्पन्न भएको डेढ महिना बित्दा पनि माओवादीले सांगठनिक संरचनालाई पूर्णता दिन सकेको छैन ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारीमा सहमति जुट्न नसक्दा शुक्रबारबाट बस्ने भनिएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
विशेष कारणवश बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताएका छन् । यसअघि पनि केन्द्रीय कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो । पुस २५, २८ र माघ ८ हुँदै माघ २८ मा तय भएको बैठक पनि स्थगित गरिएको हो । मुख्यसचिव ढकालले विशेष कारणवश बैठक स्थगित भएको बताएपनि पार्टी केन्द्रीय पदाधिकारीमा भागबण्डा मिलाउन अध्यक्ष प्रचण्डलाई सकस परेपछि बैठक स्थगित गरेको बुझिएको छ ।
अव बस्ने बैठकले केन्द्रीय समितिलाई पूर्णता दिनुका साथै १५ सदस्यीय केन्द्रीय पदाधिकारी, स्थायी कमिटी र पोलिटव्युरो कमिटीलाई समेत पूर्णता दिने कार्यतालिका रहेको थियो । माओवादीको पार्टी विधान अनुसार केन्द्रीय कमिटीले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।
पुस तेस्रो साता सम्पन्न सो पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले २३८ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो । लगत्तै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेको थियो । अध्यक्षबाहेकका १४ पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो गठन गरेर पार्टी संगठनलाई पूर्णता दिने अव बस्ने बैठकको एजेण्डा रहेको मुख्यसचिव ढकालको भनाइ छ । उनका अनुसार बैठकको पहिलो एजेण्डा नै पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिने रहेको छ । साथै समसामयिक राजनीतिक विषयमा समेत छलफल गरेर भावी कार्ययोजना तय गर्ने तयारी छ ।
माओवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने विधानमा व्यवस्था छ । महाधिवेशन हलमा २३८ जना केन्द्रीय सदस्यको नाममात्रै सार्वजनिक गरेको माओवादीले दोस्रो बैठकको सुरुमै विधान त बाँकी ६१ जना केन्द्रीय सदस्य चयन गर्नुपर्नेछ । त्यसपछि केन्द्रीय कमिटीको एक तिहाइ बराबरको सङ्ख्यामा पोलिटव्युरो र पोलिटव्युरोको एक तिहाइ सङ्ख्यामा स्थायी कमिटी फर्मेशन हुनेछ । यो हिसावमा माओवादीको पोलिटव्यूरो झण्डै एकसय जनाको हुने देखिन्छ भने स्थायी कमिटी ३३ जनाको हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ माघ २०७८, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले संसद्लाई अपहेलना गर्यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने माओवादी केन्द्रको तयारी
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड
माओवादी केन्द्रीय समिति बैठकमा करिब २५ लाख खर्च हुने अनुमान
प्रचण्डले बोलाए पदाधिकारी बैठक