राष्ट्र संघको पाँच निकायको नेतृत्व तहमा नेपाल

पत्रपत्रिकाबाट

सोमबार, १० माघ २०७८, ०७ : ५७
राष्ट्र संघको पाँच निकायको नेतृत्व तहमा नेपाल

काठमाडौं । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ।

दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्वसंस्थाका महत्वपूर्ण पदमा रहेर काम गर्ने अवसर भने पाएको छ।

मानवअधिकार परिषद्, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि ९सिइडीएडब्ल्यू०, लागुऔषध नियन्त्रणसम्बन्धी आयोग, जनसङ्ख्या तथा विकास आयोग र विज्ञान तथा प्रविधि आयोगको सदस्यमा निर्वाचित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने अवसर पाएको छ।

सिइडीएडब्ल्यको आगामी तीन वर्ष, मानवअधिकार परिषद् र लागुऔषध नियन्त्रण आयोगको आगामी दुई वर्ष, जनसङ्ख्या तथा विकास आयोग र विज्ञान तथा प्रविधि आयोगमा सदस्यका रुपमा नेपालले यो वर्षभरि विश्वसमुदायसँग नेतृत्व तहमा रहेर काम गर्ने अवसर पाएको छ।

सन् २०२१ सम्म नेपालले लैङ्गिक समानता तथा सशक्तीकरणका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय (युएन वुमन), राष्ट्रसङ्घीय महासभाको आर्थिक तथा वित्तीय समितिको अध्यक्ष र कानुन समितिको उपाध्यक्षका रुपमा काम गरिसकेको छ। नेपालले आफ्नो बहुपक्षीय संलग्नतामा उक्त विश्व संस्थालाई सुधार गर्न र त्यसलाई अझ सक्रिय, प्रभावकारी र सक्षम बनाउनुपर्नेमा जोड दिँदै आएको छ। साथै राष्ट्रसङ्घको बडापत्रलाई आफ्नो परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्तका रुपमा अँगालेको छ भने उक्त संस्थालाई बहुपक्षवादको केन्द्रबिन्दु मानेको छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस