म्यान्मारमा ‘जुन्ता’ शासकको क्रुर दमनले नागरिकहरू दिनहुँ आक्रोशित बन्दै गएका छन् । प्रजातन्त्र समर्थकसहित सैनिक परिवारका सदस्यहरूले पनि सेनाको अमानवीय कार्यप्रति असहमति जनाउन थालेका छन् । अनेकौँ धम्कीका बावजुद ‘जुन्ता’ विरूद्ध बोल्ने ‘सैन्य परिवार’ का सदस्यहरूको संख्या बढिरहेको सैनिक स्रोतको दाबी छ ।
प्रजातन्त्र समर्थक एक संस्थाको सामाजिक सञ्जालमा सैनिक पत्नीहरू भेला भएको तस्बिर सार्वजनिक गरिएको छ । सैन्य उच्च नेतृत्वको त्रासले ‘सैनिक–पत्नी’ को पहिचान लुकाएर राखिएको छ ।
‘मेरो पति तानाशाहको गुलाम बनेको देख्दा दुःख लागेको छ । हाम्रा छोराछोरीले आफ्ना बुबालाई घृणा गरेको चाहँदैनन् । हामीहरू जाग्नैपर्छ । उठ्नुपर्छ ।’ तस्बिरसहित यस्तै–यस्तै नाराहरू उल्लेख गरिएको छ ।
म्यान्मारमा सैन्य परिवारका सदस्यहरूले ‘जुन्ता’ विरूद्ध गरेको यो नै दुर्लभ विद्रोह हो । जसका सदस्यहरू गत फेब्रुअरी १ को ‘कू’ पछि प्रायः मौन छन् । जनसत्ता कब्जा गर्ने सैन्य जुन्ताले अझैसम्म राजनीतिक निकाससमेत दिनसकेको छैन । सेनाले शान्तिपूर्ण आन्दोलनमाथि हिंसात्मक दमन भने कायमै राखेको छ ।
‘सैनिकहरू जुन्ता शासनको आदेशमा नागरिकमाथि गोली बर्साइरहेका छन् । निर्दोष युवा–युवतीहरूको हत्या भइरहेको छ । हामीहरू यस्तो कार्यप्रति चिन्तित छौँ,’ नागरिक अवज्ञा आन्दोलनमा सामेल भएकी नाम नखुलाउने शर्तमा एक ‘सैनिक–पत्नी’ ले भनिन्, ‘सैन्य नेताहरूको वर्तमान कार्यले जनता आक्रोशित छन् । उनीहरूले हाम्रो परिवारको जीवन कुनै पनि समयमा नष्ट गर्न सक्छन् ।’
सैनिक सन्तानहरूले मानसिक यातना भोगिरहेका छन् । आफ्नो बुबालाई मानिसहरूले घृणा व्यक्त गरेको उनीहरू बताउँछन् । म्यान्मारका सिपाहीहरूले जनताको सुरक्षा गर्दैनन् । उनीहरू निर्दोष नागरिकलाई मारिरहेका छन् । त्यसैले ‘जुन्ता सत्ता’ को चर्को बिरोध क्रमशः बढिरहेको छ ।
प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गरेका सैनिक–परिवारलाई उच्च अधिकारीहरूले विभिन्न तरिकाले धम्की दिइरहेका छन् । प्रायः ‘सैनिक–पत्नी’ हरूले यो अवस्था सहनु नै पर्नेछ किनभने पतिहरू तत्काल सैन्य सेवाबाट बाहिर निस्कन सक्दैनन् । उनीहरूले सैनिक नेताले जनताप्रति गरेको क्रुरताप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
म्यान्मारमा सेनाको कमाण्ड प्रणालीलाई अनुचित रूपमा हेरिन्छ । अमानवीय आदेश र हिजोआज सेनामा थप दमन देखिन्छ । सैनिक जवानहरूले ‘कू’ नरूचाए पनि विद्रोह गर्न सक्ने अवस्थामा भने छैनन् ।
सेवा छाडेर नागरिक अवज्ञा आन्दोलनमा सामेल भएका पूर्वसैन्य–कप्तान न्यू थुटाले ८५ प्रतिशत सैनिकहरू ‘कू’ को विपक्षमा रहेको विश्वास गरेका छन् । ‘मेरो मतलब यो होइन कि सबैजना सेनाको विरुद्ध छन् । सेनाभित्रका ८५ प्रतिशत कर्मचारी भने पक्कै छन् । तर उनीहरूमा जागिर छोड्ने हिम्मत छैन,’ उनले भने, ‘कसैलाई आफ्नो जीवन बर्बाद हुने डर छ । त्यसैले तिनीहरू तटस्थ रहन्छन् ।’
सैनिक–परिवारका अनुसार बम बिष्फोट र आक्रमणको परिणामस्वरूप बढ्दो मृत्युको संख्याले बर्मेली–जनतामा विद्रोहको भावनामा स्वतः वृद्धि भएको छ ।
सुरक्षाका कारणले नाम नखुलाउने सर्तमा एक जना सैनिक अधिकृतकी बहिनीले स्थानीय सञ्चार–माध्यमलाई भनिन्, ‘सेना देशको रक्षामा जुटेको छैन । यसले सत्ता जोगाउनको लागि अनुचित कार्य गर्दै आएको छ । मानिसहरूले एक अर्कालाई मारिरहेका छन् । म्यान्मारका लगभग आधा सैनिकहरू जुन्ता प्रमुख जनरल मिन आङ हेलाइन्ङसँग दुःखी भएको उनको बुझाइ छ ।
कम्पाउण्डमा सँगै बस्ने सैनिक परिवार तथा आफन्तहरू पनि सेनाविरूद्धको आन्दोलनमा सामेल भइरहेका छन् । उनीहरूले कम्पाउण्डमा मासिक बैठक गर्ने गरेका छन् ।यता सैन्य ‘जुन्ता’ सरकारका प्रवक्ता जाव मिन टुनले सेनाभित्रको असन्तुष्टिको रिपोर्टलाई अस्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ पुस २०७८, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु