नेपाली कांग्रेसकी नेतृ मुक्ताकुमारी यादव बनिन् ‘म्यान अफ दी इलेक्सन’

सफल खबर संवाददाता

मंगलबार, ०६ पुस २०७८, १८ : ४१
नेपाली कांग्रेसकी नेतृ मुक्ताकुमारी यादव बनिन् ‘म्यान अफ दी इलेक्सन’


काठमाडौँ ।  १२ औं र १३ औं महाधिवेशनमा लगातार पराजित यादवले मंगलबार सम्पन्न मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा सबैभन्दा बढी ३ हजार ९ सय ६० मतसहित निर्वाचित भएकी हुन्। १२ औं र १३ औं महाधिवेशनमा पनि उनले मधेसी महिलातर्फकै कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन्। तर दुवै पटक केन्द्रीय सदस्य बन्ने उनको सपना पूरा भएन। 

१४ औं महाधिवेशनमा डा शेखर कोइराला र सभापति शेरबहादुर देउवा दुवै प्यानलमा उनलाई राखिएको थियो। चारजना विजयी हुने यो समूहमा पाँच जनाबीच प्रतिस्पर्धा हुँदा उनैले सबैभन्दा लोकप्रिय मत पाइन्। चारजना निर्वाचित हुने मधेशी महिलातर्फ मुक्तासँगै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याउँदै निर्वाचित भएका छन्। 

धनुषा क्षेत्र नम्बर २ की मुक्ता २०७० सालको निर्वाचनपछि समानुपातिक सभासद बनिन्। २०७४ सालमा उनी राष्ट्रिय सभामा निर्वाचित भइन्। संसदीय राजनीतिमा अवसर पाए पनि पार्टीभित्र सधैँ पराजित भइन्। यसपटक केन्द्रीय समितिमा पुग्ने उनको धोको मात्रै पूरा भएको छैन, लोकप्रिय मतको ‘रेकर्ड’ नै कायम गरिन्।

मधेशी महिलातर्फको मतपरिणाम आएसँगै डा शशांक कोइरालाको सर्वाधिक मतको ‘रेकर्ड ब्रेक’ भएको छ। कोइरालाले ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा ३ हजार ८ सय ३६ मत पाएका छन्। उनले भन्दा मुक्ताले एकसय बढी मत पाएकी हुन्। 
 

प्रतिक्रिया दिनुहोस