विकास र समृद्धि नै पहिलो प्राथमिकताः प्रचण्ड

सोमबार, १७ बैशाख २०७५, १९ : १३
विकास र समृद्धि नै पहिलो प्राथमिकताः प्रचण्ड

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा राजनीतिक स्थिरता कायम भएको हुँदा अब विकास र समृद्धि नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकमा अब आर्थिक समृद्धि कायम गरी सामाजिक रुपान्तरणको अनुभूति नेपाली जनतालाई दिनुपर्छ भन्नुभयो ।

अध्यक्ष दाहालले जनताको लामो संघर्षपछि प्राप्त भएको अहिलेको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जनताका अधिकारलाई संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा रगतको अभाव हुन नदिन स्वयंसेवी रक्तदाताले सञ्चालन गरेका विभिन्न अभियानको सरहाना गर्दै उहाँले ग्रामीण भेगमा समेत उक्त समाजको सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले रगतको अभावमा मानिसले मृत्युवरण गर्नुपरेकामा चिन्ता व्यक्त गर्दै रगतको संकलन र वितरण प्रणालीलाई व्यवस्थित बनाइनुपर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्खा र डा युवराज शर्मालगायतले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने रक्त सञ्चार कार्य तथा त्यससम्बन्धी चेतनालाई देशका विभिन्न भागमा प्रवद्र्धन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले राज्यले गुणस्तरीय रगत परीक्षण र बिरामीलाई निःशुल्क रगतको सुविधाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । ‘कम्तीमा एक परिवार एक स्वयंसेवी रक्तदाता अभियानमा सहभागी हौँ’ भन्ने मूल नाराका साथ शुरु भएको उक्त महाधिवेशनमा मुलुकका २३ जिल्लाबाट ११५ प्रतिनिधिको सहभागिता रहेको छ । नयाँ नेतृत्व चयन गर्ने समाजको महाधिवेशन मंगलबारसम्म जारी रहनेछ । (रासस)

प्रतिक्रिया दिनुहोस