पोखरा । सहिद स्मारक राष्ट्रिय ‘ए’ डिभिजन लिग पहिलो पटक काठमाडौं बाहिर निस्किएको छ । यो सिजनको लिगअन्तर्गत केही खेलहरू पोखरा ल्याइएको हो । मनाङ मर्स्याङ्दी क्लबले पोखरालाई घरेलु मैदान मानेको छ । घरेलु मैदानमा मनाङले आज नेपाल पुलिस क्लबसँग प्रतिश्पर्धा हुनेछ । यसै वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशालालाई मनाङको होम ग्राउन्ड स्वीकृति दिएको हो ।
दुवै टिमका लागि पोखरा रंगशाला नौलो होइन । आहा रारा गोल्डकपमा यी दुई टिम धेरै पटक आमनेसामने भएका छन् । आठ पटकको प्रतिश्पर्धामा धेरै पटक पुलिसले जितेको छ । चार पटकको फाईनल भिडन्तमा भने पुलिसलाई मनाङले तीन पटक पराजित गरेको छ । दुवै टिमले यही रंगशालामा ६-६ पटक आहा राराको उपाधि जितेका छन् ।
राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको मनाङका लागि यो शनिबारको खेल निकै महत्वपूर्ण हुनेछ । किनकी घरेलु मैदानको स्वकृति पाएपछि यही खेल पहिलो हो, उसका लागि । प्रशिक्षक तामाङ ३ अंकका लागि आफूहरुले प्रतिश्पर्धा गर्ने बताउँछन् । ‘पहिलै खेलबाट ३ अंक जोड्छौं । हामी जित्नका लागि खेल्दैछौं,’ उनले भने, ‘तर पोखरा रंगशाला हाम्रा लागि भन्दा पुलिसका लागि सफल छ । नकआउट र लिग फरक हो । हामी जित्छौं, यसपालि ।’
पुलिसका प्रशिक्षक अनन्त थापा पनि जित्नकै लागि पोखरा आएको बताउँछन् । ‘यो खेल जति मनाङको लागि महत्वपूर्ण छ, उति हाम्रा लागि पनि अत्यावश्यक छ । जित्नकै लागि हामी प्रतिश्पर्धा गर्छौं,’ उनले भने, ‘मनाङसँगको खेल सजिलो छैन । तै पनि राम्रो नतिजा निकाल्छौं ।’ मनाङलाई घरेलु मैदानको फाईदा रहेको उनले बताए ।
मनाङ तीन विदेशी खेलाडीसहित पुलिसविरुद्धको प्रतिश्पर्धामा होमिएको छ । अहिले मनाङ १० अंकसहित दोस्रो स्थानमा छ । लिग तालिकाको शीर्षस्थानमा उक्लन मनाङलाई शनिबारको खेल जित्नै पर्ने दबाब छ । शुक्रबारको खेलमा संकटाले मच्छिन्द्रलाई बराबरीमा रोकेपछि मनाङले पुलिसलाई हराउँदै शीर्षमा उक्लने मौका पाएको हो । मनाङले यसपछि पुस १७ र २४ पुस पनि खेल्नेछ । मनाङ र पुलिसबीचको खेल हेर्न एक सय र तीन सयको टिकट शल्क ताेकिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ पुस २०७८, १४ : २५
लेखकबाट थप