मुलुकको अर्थतन्त्रमा गम्भीर संकट आउन सक्छ : अर्थविद्

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, २० : १६
मुलुकको अर्थतन्त्रमा गम्भीर संकट आउन सक्छ : अर्थविद्

काठमाडौँ । अर्थविद्हरूले मुलुकको अर्थतन्त्रमा गम्भीर सङ्कट आउने गरी ओरालो लागेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शुक्रबार ‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे’ अर्थविद्हरूसँग गरेको छलफलका क्रममा अर्थविद्हरूले अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक देखिएकाले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पर्न सक्ने सङ्केत देखिन थालेको बताएका हुन् ।  

समितिको छलफलमा अर्थविद् डा।चन्द्र मणि अधिकारीले विश्व अर्थतन्त्रमा नै मन्दी आउने सङ्केत देखिएकाले विश्व अर्थतन्त्रको प्रभाव नेपालको अर्थतन्त्रमा पनि असर पारेको बताए । अर्थविद् अधिकारीले विश्व अर्थतन्त्रमा नै उत्पादनमा कमी, मूल्य वृद्धि , बैंकहरुमा ब्याजदर बढ्दै गएको उल्लेख गरे । उनले यसरी विश्व अर्थतन्त्र नै सङ्कटमा पर्ने अवस्था आएकाले त्यसको असर स्वाभाविक रूपमा नेपालमा देखिने बताए ।

अधिकारीले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा अर्थतन्त्रका सूचकहरू सङ्कट उन्मुख देखिएको बताए । अहिले सरकारले  विदेशी मुद्रा सञ्चिति राम्रो भएको,शोधान्नातर स्थिति राम्रो, चालु खातामा बचत रहेको र राजश्व बढेकाले अर्थतन्त्र ठिक ठाउँमा रहेको बताउने गरेको भए पनि अहिले त्यस्तै अवस्था नभएको बताए । अर्थविद् अधिकारीले भने,‘क्षेत्रगत रूपमा प्राथमिकरण भएन भने हामी अझ ठुलो सङ्कटमा जान्छौँ । अनौपचारिक तरिकाले भएको मूल्यवृद्धिको तथ्याङ्क हामीसँग छैन । त्यो अझ डरलाग्दो छ ।’

अर्थविद् अधिकारीले नेपालमा सङ्घीयता लागू भए पनि प्रणाली राम्रो नभएको बताए । उनले संविधानले नै सङ्घीय संरचना भद्दा बनाएको जिकिर गरे । उनले सङ्घीयताका कारण प्रशासनिक हिसाबसमेत ठुलो बन्दै गएको बताए । अधिकारीले एउटा प्रदेशमा १४ वटासम्म मन्त्रालय बनाउँदा मुलुकको थप समस्या आउने बताए । 

प्रतिक्रिया दिनुहोस