कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बलायर प्यानलसहित विजयी

सफल खबर संवाददाता

आइतबार, १९ मंसिर २०७८, १२ : २७
कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बलायर प्यानलसहित विजयी

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन् । उनी ६ सय ८८ मत ल्याउँदै सभापतिमा विजयी भएका हुन् । प्रदेश समिति चयनका लागि भएको मतदानमा खसेका एक हजार तीनमध्ये सभापतिका अर्का प्रतिस्पर्धी इतर समूहका नारायणदत्त मिश्रले दुई सय ८० मत मात्रै प्राप्त गरे । 

प्रदेश उपसभापतिमा देउवा पक्षकै जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् । चौधरीले ६ सय १० र अवस्थीले पाँच सय २३ मत पाएका छन् । महामन्त्रीमा बलायर प्यानलकै नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन् । शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन् । यस्तै सहमहामन्त्रीमा पनि बलार प्यानलकै गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन् । 

को हुन बलायर ?

प्रदेश अधिवेशन उद्घाटन हुँदासम्म पूर्वभौतिक पूर्वाधारमन्त्री बलायरकाे कतै नाम सुनिएकाे थिएन । अधिवेशन उद्घाटनपछि मात्रै उनी सभापतिका लागि चर्चामा आएका थिए । अन्तिममा संस्थापन पक्षले बलायरकै नेतृत्वमा प्रदेश समिति घोषणा गर्‍याे । 

५७ वर्षीय बलायर विद्यार्थीकालमा युवामाझ चर्चित थिए । बीपी कोइरालाबाट प्रभावित उनी २०४९ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा लडेका थिए । तर पराजित भए । त्यतिबेला उनी त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष थिए ।

बलायर २०४६ सालमा गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जनआन्दोलनको घोषणा हुँदै गर्दा सभाको सुरक्षा संयोजक बनेका थिए ।बलायरले २०६४ सालमा संविधानसभाको उम्मेदवार बन्ने मौका पाए पनि पराजित भए । 

२०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले उनलाई पुनः टिकट दियाे । संविधानसभा सदस्यमा विजयी भएका उनी पार्टी सभापति शेरबहादुर नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए । कांग्रेसको १२औं महाधिवेशनमा नेपाली कांग्रेस डोटी सभापति भएका बलायर १३औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा निर्वाचित भए ।

सन्तनेता कृष्णप्रसाद भट्टराईसँग नजिक रहेर काम गरेका बलायर नेपाली कांग्रेस विभाजनपछि देउवाको पक्षमा उभिएका थिए । त्यसपछि उनी देउवा प्यानलमै रहेर राजनीति गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस