१४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेसको आज अधिवेशन हुँदै

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, ११ : ०१
१४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेसको आज अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ ।  मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र यही मङ्सिर ३ गतेदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रारम्भ गरिसकेको छ ।

कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गते अर्थात् आजका लागि निर्धारण गरिएको थियो ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुनेछ ।