काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताएकी छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (एको¥याब)ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको समयावधिभन्दा अगावै नेपालबाट पेट्रोलियम पदार्थको प्रयोग प्रतिस्थापन गर्न सकिने गरी योजना बनाउने बताएकी छन् ।
“विशेषज्ञ र सरोकारवालालाई अध्ययन गराएर कार्ययोजना बनाउने छु । त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौँ”, स्वदेशमै उत्पादन भएको विद्युत् खपत गर्दा व्यापारघाटा कम गर्न सकिने विश्वास व्यक्त गर्दै उल्लेख गर्दै उनले भनिन्, “स्वदेशी उत्पादन प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा पनि मद्दत पुग्छ ।”
जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि हामीले विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, “हिउँ पग्लँदै छन्, हिउँपोखरीको जोखिम बढ्ने देखिएको छ । यस्ता जोखिम कम गर्न पनि हाम्रोतर्फबाट योगदान गरौँ ।” विकसित राष्ट्रले गरेको गल्तीका कारण जलवायु परिवर्तन नराम्रो असर नेपालमा पर्न थालेको बताउँदै उनले भनिन्, “मनाङलगायत जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ, हामीले नखाएको विषको परिणाम हामीले भोगिरहेका छौँ ।”
विपद्का समयमा रेडियोको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री भुसालले भनिन्, “विपद्का समयमा सबैभन्दा बढी प्रभावकारी एफएम नै हुन्छ । सूचना साझेदारीको काम गर्न तयार छौँ । सूचनाको माध्यम रेडियो भएको छ ।” सरकार सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै उहाँले जुनसुकै समयमा पनि सहजरूपमा रेडियो सुन्न सकिने भएकाले रेडियो प्रभावकारी सूचना प्रवाह गर्ने माध्यम भएको बताइन्। उनले भनिन् “सञ्चारमा सबैभन्दा प्रभावशाली रेडियो नै छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ कार्तिक २०७८, १८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो : पम्फा भुसाल
एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ : पम्फा भुसाल