फूल खेतीमा रमाउँदै चितवनका दुई युवा

सफल खबर संवाददाता

शुक्रबार, १९ कार्तिक २०७८, १२ : ४४
फूल खेतीमा रमाउँदै चितवनका दुई युवा

चितवन । भरतपुर महानगरपालिका पटिहानीका मनोजकुमार ढकाल र कालिका नगरपालिका पदमपुरका गोविन्द बास्तोला आफ्नो जीवनलाई फूल बनाउन खोजिरहेका छन् । फूलखेतीमा होमिएर आफ्नो जीवनलाई फूल बनाउने दौडानमा छन् यतिबेला दुई युवा ।

जीवनलाई जस्तो बनायो त्यस्तै हुन्छ भन्नेकुरा दुई युवाले राम्रोसँग बुझेका थिए । फूल छोए जीवन फूल बन्नसक्छ भन्ने ज्ञान दुबैमा थियो । सँगैका साथीभाई विदेश दौडिरहेका थिए । लाखौँ रेमिट्यान्स साथीहरुले पठाइरहँदा उनीहरुलाई विदेश जाने र लाखौँ कमाउने सोच नआएको होइन । दुबै प्लस टुदेखि सँगै पढिरहेका थिए । दुबैले मास्टर्स सके । मनोजले कृषिमा मास्टर्स भ्याए । गोविन्दले साइन्समा ।

दुबैमा के गर्ने र कसो गर्ने छटपटि सुरु भयो । विदेशमा गएर पसिना बगाउने कि स्वदेशमै केही गर्ने ? साथीभाइ विदेश जाँदा विदेशमै रमाउने सोच पनि नआएको होइन, तर स्वदेशमै केही गरौँ भन्ने हुटहुटी पनि दुबैमा थियो ।

दुबै जना घोत्लिएर सोचिरहँदा मनोजको दिमागमा फूल भन्ने शव्द आयो । फूलले नै जीवन फूल बनाउन सक्छ र यसैखेतीमा लाग्नुपर्छ भन्ने सोच नै उनीहरुको मनमा गड्यो र दुबैले संयुक्त लगानीमा फूलखेती सुरु गरे । मनोज भन्छन्, ‘फूलले कसैलाई काँडा बनाउन जानेकै हुँदैन । फूलसँग भएको काँडा त उसको आत्मरक्षक हो । यो धर्तीमा आत्मरक्षक नगर्ने सजीव प्राणी को होला रु फूलसँग संगत गर्ने जोकोहीको जीवन फूलजस्तै हुन्छ, यसै सोचले हामी फूलखेतीमा लाग्यौँ ।’ दुबै युवा जिएम फ्लोरिकल्चर फर्म दर्ता गरे र होमिए फूलखेतीमा ।

मनोज र गोविन्द दुबैले यतिबेला ३ बिघा सयपत्री फूलखेती गरिरहेका छन् । पदमपुर, मंगलपुर र पटिहानीमा उनीहरुले फूलखेती गरिरहेका छन् । दुबैले ६ लाख लगानी गरेका छन् । मनोज भन्छन्, ‘तिहारमा सयपत्री फूलखेतीमा हामीले ६ लाख लगानी गरिसक्यौँ, १० लाख कमाउने लक्ष्य छ ।’ दुबै यतिबेला तिहारको फूल टिप्नमा व्यस्त छन् ।

उनले भने, ‘तिहारमा फूल टिप्न भ्याइनभ्याइ छ, बुटवल, पोखरा, काठमाडौँ हेटौँडाबाट माग आइरहेको छ । १८ जनालाई रोजगार दिएका छौँ।’ गोविन्द बास्तोलाका अनुसार कर्मचारीहरुलाई एउटा माला बनाएको ७ रुपैयाँ दिइएको छ । एक घन्टाको काम गरेबापत् ८० देखि १०० रुपैयाँ दिएका छौँ ।’

उनीहरुले युवाहरुलाई फूलखेतीमा लाग्न सुझाव दिएका छन् । मनोज भन्छन्, ‘कोही युवा बेरोजगार बस्न पर्दैन । फूलखेतीमा लागे जीवन नै फूल बन्छ । ३ बिघामा फूलखेती गर्दा हामीले तिहारको यो सिजनमा कम्तीमा ५ लाख कमाउन सक्ने देखिएको छ ।’ उनले भारतबाट आयातित फूललाई स्वदेशी फूलले विस्थापन गरिरहेको बताए । उनले भने, ‘आयातित प्लास्टिकका माला बजारमा छैनन्, स्वदेशी फूलले बजार खाँदैछ ।’

प्रतिक्रिया दिनुहोस