चितवन । सरकारी र निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको यहाँको चितवन–चनौली शीतभण्डार सञ्चालनको तयारीमा पुगेको छ । भरतपुर महानगरपालिका–१८ शीतभण्डार निर्माण गरिएको हो । संस्थाले ७ कठ्ठा जमिन खरिद गरेर विसं २०७० वैशाख २७ गते बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको थियो । संस्थाका अध्यक्ष सूर्यमणि पौडेलका अनुसार सुरुमा भवन रु आठ करोड ७७ लाखमा निर्माण सम्झौता गरिएकोमा नक्साङ्कन परिवर्तनसँगै रु दुई करोड रकम थप भएको थियो ।
भवनमा रु दुई करोड ४२ लाखको उपकरण जडान गरी परीक्षण सम्पन्न गरिएको छ । उनका अनुसार ट्रान्सफरमर र लिफ्टबाहेक अन्य काम सम्पन्न भएको छ । दुई हजार ५०० मेट्रिकटन क्षमताको यस शीतभण्डार आउँदो पुसबाट व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । शीतभण्डारको क्षमताको आधा भागलाई व्यावसायिक रुपमा प्रयोगमा ल्याइँदै छ भने बाँकीलाई शेयर सदस्य र किसानलाई सर्वसुलभ रुपमा दिइने छ ।
संस्थामा ८७९ जना शेयरधनी रहेका छन् । शेयर पूँजी रु ६ करोड ७५ लाख र सरकारी अनुदान रु ६ करोड १४ लाख प्राप्त भएको उनले जानकारी दिए । सहकारी विभागले रु ५ करोड ४८ लाख, बागमती प्रदेशले रु ५८ लाख ५९ हजार र भरतपुर महानगरपालिकाले रु ४ लाख ८३ हजार सहयोग गरेको छ । सहकारी विभागबाट सम्झौता भए अनुरुपको थप रकम आउन बाँकी रहेको पौडेलको भनाई छ । संस्थाले शेयर पुँजी रु १० करोड पु¥याउने लक्ष्य लिएको छ । केही साना शेयरधनीलाई रकम थप गर्न लगाएर रु एक लाख देखि सात लाखसम्मको शेयर बनाउने योजना बनाइएको छ ।
उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतमले यो शीतभण्डार सञ्चालनमा आएसँगै चितवन र छिमेकी जिल्लाका किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए । किसानले मूल्य नपाएर आफ्नो उत्पादन सस्तोमा बिक्री गर्नुपरेको र कतिपय समयमा फाल्नुपर्ने बाध्यता रहेको भन्दै उनले यसले ती किसानलाई लाभ पुग्ने बताए । उनले भने , “सरकारले आवश्यक सहयोग गरेर न्यून शुल्कमा भण्डार गर्ने व्यवस्था मिलाउनु पर्छ ।”
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे देशको सम्वृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भएको भन्दै यस्ता शीतभण्डारले किसानको उत्पादनले बजार र उपयुक्त मूल्य पाउने बताउछन। कृषकले लागत मूल्य समेत नपाउँदा विदेशीनु परेको भन्दै उनले सरकारले शीतभण्डार सञ्चालनमा सहयोग गरेर सर्वसुलभ रुपमा भण्डारणको व्यवस्था मिलाउनुपर्ने बताए । प्रविधिको विकास गरी कम लागतमा धेरै उत्पादन गरेर बजारको अवस्था हेरी भण्डारण र बिक्री गर्न उनले सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १६ कार्तिक २०७८, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माझिटारमा ६ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण
५ करोडमा बनेको पश्चिम नवलपरासीको शीतभण्डार उपयोगविहीन
शीतभण्डार सुन्तला कुहिएपछि वैज्ञानिक अनुसन्धान गरिँदै